हराएको वा बिग्रेको एनटिसीको सिम अब अनलाइनबाटै बदल्न सकिने

हराएको वा बिग्रेको एनटिसीको सिम अब अनलाइनबाटै बदल्न सकिने

नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम प्राप्त गर्न अनलाइनबाटै आवेदन दिन सकिने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। सूचना तथा सञ्चार मन्त्रालयको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गत तयार गरिएको १० बुँदे सुधारात्मक कार्ययोजनाअनुसार साउन १ गतेदेखि यो सेवा लागू गरिएको हो।

टेलिकमका अनुसार डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने तथा ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो। अब सेवाग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टलमार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रेको फिजिकल सिमको सट्टा नयाँ फिजिकल सिम वा ई–सिमका लागि आवेदन दिन सक्नेछन्।

यसका लागि ग्राहकले टेलिकमको आधिकारिक पोर्टल esim.ntc.net.np मा लगइन गरी ‘Apply for Lost/Damaged SIM’ विकल्पमार्फत आवश्यक विवरण भरेर आवेदन दिनुपर्नेछ।

अनलाइन आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा आवेदनमा उल्लेख गरिएको प्रतिनिधिमार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। नयाँ सिम प्राप्त गर्दा लाग्ने ५० रुपैयाँ शुल्क भने सम्बन्धित काउन्टरमै बुझाउनुपर्ने टेलिकमले जनाएको छ।

ग्राहकको गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्दै प्रतिनिधिमार्फत सिम बुझ्ने व्यवस्था पनि गरिएको छ। यसका लागि आवेदन दिने क्रममा प्रतिनिधिको नाम उल्लेख गर्नुपर्नेछ भने सिम लिन जाने प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

नेपाल टेलिकमका अनुसार उक्त अनलाइन पोर्टलमार्फत हराएको वा बिग्रेको सिम प्रतिस्थापनका साथै नयाँ प्रिपेड ई–सिमका लागि आवेदन, पुरानो फिजिकल सिमलाई ई–सिममा रूपान्तरण, नयाँ फिजिकल सिमका लागि आवेदन तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्ने सुविधा पनि उपलब्ध हुनेछ।

सञ्चार मन्त्रालयको सुधारात्मक कार्ययोजनाअन्तर्गत कम्पनीले सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। सोहीअनुसार मोबाइल सेवा व्यवस्थापन, प्रशासनिक प्रक्रिया सरलीकरण तथा सेवाग्राही केन्द्रित डिजिटल सेवाहरू विस्तार गर्दै लगिएको टेलिकमले जनाएको छ।

कार्ययोजनाअनुसार आगामी दिनमा ग्राहक विवरण एकपटक मात्र दर्ता गर्ने व्यवस्था, ई–सिम वितरण, हराएको सिम पुनःप्राप्ति, गुनासो व्यवस्थापन तथा सिम स्वामित्व हस्तान्तरणलगायतका सेवा पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी गरिएको छ। साथै, नेपाल टेलिकमका सबै कार्यालयमा एकल सेवा सहायता कक्ष स्थापना, फोरजी सेवाको गुणस्तर सुधार तथा डाटा सकिएपछि स्वतः मौज्दात रकम कट्ने व्यवस्था हटाउनेलगायत सुधारका कार्यक्रम पनि अघि बढाइएको कम्पनीले जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स