२४०० रुपैयाँमा कारोबार भइरहेको कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा घट्यो
हाइड्रोपावर समूहको सबैभन्दा महँगो सेयर भएको कम्पनी कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४.२६ प्रतिशत कम हो । गत वर्ष यस कम्पनीले १ करोड ३ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको हो। कम्पनीले बिक्रीबाट हुने आम्दानी १ करोड ९९ लाख रुपैयाँ गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो।
१२ करोड १८ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कुथेली हाइड्रोपावरको जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल नाफा समीक्षा अवधिमा ३.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.२० प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४६.१७ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५२ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ।