नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसजस्ता ठूला दलसँग डराएर अन्य राजनीतिक दलहरू मोर्चाबन्दीमा लागेको बताएका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले र कांग्रेसबाहेक अन्य दलले सरकार बनाउन नसक्ने दाबी गरे। ठूला दलसँग डराएर साना दलहरूले मोर्चाबन्दी गरिरहेको र यो प्रवृत्ति निर्वाचन अघिसम्म जारी रहने उनले बताए।
अन्य दलहरूको मोर्चाबन्दीप्रति कटाक्ष गर्दै उनले भने, “कुखुरा, बाख्रा र स्याल मिलेर सिंहको सिकार हुन्छ ?”
कसैलाई प्रधानमन्त्री र कसैलाई पार्टी अध्यक्ष बाँड्ने अभ्यासलाई हास्यास्पद भन्दै ओलीले साना दलहरूको गठबन्धनले एमालेजस्तो ठूला दललाई कुनै असर नपर्ने धारणा राखे। उनका अनुसार एमाले कुनै न कुनै समयमा हुने निर्वाचनको तयारीमा रहेको छ र निर्वाचनबाटै राष्ट्रिय फैसला हुने उनले दाबी गरे।
“हामी चुनाव पर्खिरहेका छौँ। फागुन २१ मा होस्, वैशाखमा होस् वा अर्को मंसिरमा—निर्वाचनबाटै हामी राष्ट्रिय फैसला दिन तयार छौँ,” ओलीले भने।
अध्यक्ष ओलीले हाल निर्वाचन हुन सक्ने वातावरण नभएको भन्दै असंवैधानिक रूपमा विघटन गरिएको संसद् पुनःस्थापना हुनुपर्ने बताए। सरकार बनाउने र हटाउने थलो संसद् भएकाले यसको विघटनले संविधान संकटमा परेको उनको भनाइ थियो।
संसद् पुनःस्थापना गरेर मात्र वर्तमान राजनीतिक संकट समाधान हुन सक्ने भन्दै उनले यस विषयमा सर्वोच्च अदालतले छिटो निर्णय गर्नुपर्नेमा जोड दिए। साथै, राहदानी रोक्का र स्थानहद तोकिएका अवस्थाबाट निर्वाचनको वातावरण बन्न नसक्ने उनले बताए।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया