कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १९.३७ प्रतिशतले बढेर ५८ करोड ८७ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा वृद्धि र इम्पेयरमेन्ट चार्जमा कमी आएका कारण नाफामा बढेको हो।
तेस्रो त्रैमाससम्ममा कामना सेवा विकास बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड ८३ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ८.४६ प्रतिशतले बढेर २ अर्ब १२ करोड रुपैयाँमा पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज ३१ करोड ७१ लाख रुपैयाँबाट घटेर २८ करोड ६२ लाख रुपैयाँमा आएको छ।
बैंकको खराब कर्जा अनुपात ०.१३ प्रतिशतबिन्दुले बढेर ४.४ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकले ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी ४ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको छ। यस्तै, वितरणयोग्य नाफा ४९ करोड ९५ लाख बाट घटेर ४१ करोड ७६ लाख रुपैयाँमा आएको छ। बैंकको लाभांश क्षमता १४.१५ प्रतिशत कायम भएको छ।
बैंकको प्रतिसेयर आम्दानी १.३२ रुपैयाँले बढेर २० रुपैयाँ ०५ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १६३.५७ रुपैयाँ रहेको छ। साथै मूल्य आम्दानी अनुपात २४.२० गुणा कायम भएको छ।

















प्रतिकृया