कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ३३.५१ प्रतिशतले बढेर ८९ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६६ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको व्यवसाय विस्तारसँगै इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आएपछि नाफामा सुधार देखिएको हो। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ४२ करोड रुपैयाँबाट घटेर १४ करोड रुपैयाँमा सीमित भएको छ। यसले सञ्चालन नाफा बढाउन महत्वपूर्ण योगदान गरेको देखिन्छ।
चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी पनि ५.१२ प्रतिशतले बढेर २ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। यसैबीच, सञ्चालन नाफा १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको मुख्य व्यवसायबाट हुने आम्दानीमा सुधार आएको संकेत गर्छ।
यद्यपि, नाफा बढे पनि बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको खराब कर्जा ०.२८ प्रतिशतबिन्दुले बढेर ३.७७ प्रतिशत पुगेको छ। व्यवस्थापनका अनुसार अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा असुलीमा केही चुनौती देखिएको छ।
समीक्षा अवधिमा बैंकले ६६ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ५.३२ प्रतिशत र कर्जा ८.२५ प्रतिशतले बढेको छ, जसले बैंकले व्यवसाय विस्तारलाई निरन्तरता दिएको देखाउँछ।
बैंकको चुक्ता पूँजी ४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफा ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ। प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८ पैसाबाट बढेर २२ रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ १ पैसा रहेको छ।
यद्यपि, वितरणयोग्य प्रतिसेयर आम्दानी (डिस्ट्रिब्युटेबल ईपीएस) भने १६ रुपैयाँ ७४ पैसाबाट घटेर १५ रुपैयाँ १६ पैसामा सीमित भएको छ। यसको अर्थ बैंकको लेखा नाफा उल्लेख्य रूपमा बढे पनि लाभांश वितरणका लागि उपलब्ध हुने नाफाको वृद्धि सोही अनुपातमा हुन सकेको छैन।
यस अवधिमा बैंकको पूँजी कोष तथा जोखिम भारित सम्पत्ति अनुपात (CAR) १२.५८ प्रतिशतबाट बढेर १४.१६ प्रतिशत पुगेको छ। कर्जा–निक्षेप अनुपात (CD Ratio) ८६.३४ प्रतिशत रहेको छ भने आधार दर (Base Rate) ७.०७ प्रतिशतबाट घटेर ५.५३ प्रतिशतमा आएको छ। ब्याजदर अन्तर (Interest Spread) पनि ४.२७ प्रतिशतबाट घटेर ३.९८ प्रतिशतमा सीमित भएको छ।

ब्याज आम्दानी घट्दा प्रभावित बन्यो निफ्राको नाफा: खराब कर्जा भने ‘शून्य’ प्रतिशत
प्रतिकृया