लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.बीच ७० मेगावाट क्षमताको अर्धजलाशययुक्त दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। सोलुखुम्बु जिल्लामा अवस्थित यस आयोजना निर्माणका लागि करिब रु. १५ अर्ब लागत अनुमान गरिएको छ।
यस सम्झौताअन्तर्गत परियोजना लागतको ७० प्रतिशत सहवित्तीय बैंकहरूले जुटाउने र बाँकी ३० प्रतिशत रकम कम्पनीका संस्थापकहरूबाट लगानी हुने भएको छ। सहवित्तीयकरणमा लक्ष्मी सनराइज बैंकले अगुवाइ गर्नेछ भने एभरेष्ट बैंक सह–अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकका रूपमा सहभागी हुनेछन्। यसरी कुल रु. १० अर्ब ५० करोडको परियोजना वित्त जुटाइनेछ।
दुधकोशी–२ आयोजनाले असोज ७, २०७७ मा विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको छ भने मंसिर ६, २०७८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (PPA) समेत गरिसकेको छ।
आयोजनाका मुख्य प्रवर्द्धकहरूमा आयु मलुन हाइड्रोपावर लिमिटेड, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन्।
परियोजना सन् २०२९ जुलाईभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सञ्चालनमा आएपछि यसले वार्षिक करिब ४१७ गिगावाट आवर विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति गर्नेछ। यससँगै आयोजना देशकै ठूला स्वतन्त्र उर्जा उत्पादक परियोजनामध्ये एकका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया