नेपालमा महँगीदर १६ महिनायता पहिलो पटक ५ प्रतिशत नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा मुद्रास्फीति २.७७ प्रतिशत मात्रै रहेको थियो।
वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी समूहहरूको मुद्रास्फीति क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत थियो।
राष्ट्र बैंकका तथ्यांकअनुसार २०८१ पुसमा ५.४१ प्रतिशत रहेको मुद्रास्फीति त्यसपछि लगातार घट्दै १.११ प्रतिशतसम्म पुगेको थियो। तर, फेब्रुअरीदेखि मध्यपूर्वमा बढेको तनाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभावले पुनः महँगी बढ्न थालेको देखिएको छ।
फलफूल र खाने तेलमा सबैभन्दा बढी मूल्यवृद्धि
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूलको मूल्य सबैभन्दा धेरै १८.६० प्रतिशतले बढेको छ। त्यस्तै घ्यू तथा तेल १३.९९ प्रतिशत, तरकारी ५.४० प्रतिशत तथा माछा–मासु ४.१६ प्रतिशतले महँगिएको छ।
यता दाल तथा गेडागुडीको मूल्य सूचकांक १.६७ प्रतिशत र मरमसलाको मूल्य सूचकांक ०.६५ प्रतिशतले घटेको छ।
पेट्रोलियम प्रभावले यातायात खर्च उकालो
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १९.९० प्रतिशतले बढेको छ। मध्यपूर्व द्वन्द्वका कारण पेट्रोलियम पदार्थ महँगिएपछि यातायात समूहको मूल्य सूचकांक १५.३० प्रतिशतले वृद्धि भएको छ।
यसैगरी शिक्षा ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थ ४.७७ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पल ४.७३ प्रतिशतले महँगिएका छन्।
कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
क्षेत्रगत रूपमा सहरी क्षेत्रमा मुद्रास्फीति ५.२९ प्रतिशत पुगेको छ भने ग्रामीण क्षेत्रमा ४.३५ प्रतिशत रहेको छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी मुद्रास्फीति कोशी प्रदेशमा ५.६४ प्रतिशत देखिएको छ। त्यसपछि मधेशमा ५.४७ प्रतिशत, लुम्बिनीमा ५.३१ प्रतिशत, कर्णालीमा ४.८८ प्रतिशत, गण्डकीमा ४.८६ प्रतिशत, सुदूरपश्चिममा ४.६५ प्रतिशत र बागमतीमा ४.५५ प्रतिशत मुद्रास्फीति रहेको छ।
भौगोलिक आधारमा तराई क्षेत्रमा सबैभन्दा बढी ५.५९ प्रतिशत महँगी बढेको छ। काठमाडौं उपत्यकामा ४.९० प्रतिशत, पहाडी क्षेत्रमा ४.७३ प्रतिशत तथा हिमाली क्षेत्रमा ३.७३ प्रतिशत मुद्रास्फीति रहेको छ।
थोक मूल्य पनि बढ्यो
उपभोक्ता स्तरमा मात्र होइन, थोक बजारमा पनि मूल्यवृद्धि देखिएको छ। वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ३.९५ प्रतिशत थियो।
मध्यवर्ती वस्तुको थोक मुद्रास्फीति १५.५९ प्रतिशत पुगेको छ भने पुँजीगत वस्तुको ४.६१ प्रतिशत र निर्माण सामग्रीको थोक मूल्य सूचकांक २.४७ प्रतिशतले बढेको छ। यद्यपि उपभोग्य वस्तुको थोक मुद्रास्फीति ८.६३ प्रतिशत ऋणात्मक रहेको छ।
भारतभन्दा नेपालमा महँगी बढी
नेपालको वार्षिक उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुग्दा छिमेकी भारतमा सन् २०२६ अप्रिलमा मुद्रास्फीति ३.४८ प्रतिशत मात्रै रहेको थियो।
यसले भारतीय बजारको तुलनामा नेपाली उपभोक्ताले अहिले उच्च महँगीको दबाब सामना गरिरहेको देखाएको छ।
चालु आर्थिक वर्षको पहिलो १० महिनाको औसत मुद्रास्फीति भने २.६६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.३९ प्रतिशतभन्दा कम हो।

प्रतिकृया