उद्योगी–व्यवसायीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी देशभर उद्योग–व्यवसाय सुरक्षित वातावरणमा सञ्चालन गर्न सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्रीलाई भेट्दै सुरक्षाको प्रत्याभूति बिना व्यवसाय गर्न गाह्रो भइरहेको उल्लेख गर्दै मर्यादित तर उच्च मनोबलका साथ व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था बनाउन आग्रह गरेको हो। ढकालले जिल्लास्तरमै व्यवसायीले सुरक्षाको अनुभूति गर्न नसकेको भन्दै सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए। जवाफमा गृहमन्त्री अर्यालले नागरिक र व्यवसायी दुवैको सुरक्षाप्रति सरकार संवेदनशील रहेको स्पष्ट पारे।
ढकालले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी संरचनाको पुनर्निर्माणमा निजी क्षेत्र सघाउन तयार रहेको जानकारी दिँदै कतिपय उद्योगी–व्यवसायी यसका लागि प्रत्यक्ष सहयोग गर्न इच्छुक रहेको उल्लेख गरे। उनले यसबारे उद्योग वाणिज्य संघमार्फत प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिन आग्रह पनि गरे। साथै, आन्दोलनको क्रममा निजी क्षेत्रको सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनी गर्ने व्यक्तिमाथि कारबाही गर्नुपर्ने माग पनि उनले गृहमन्त्रीसमक्ष राखे।
महासंघका उपाध्यक्ष हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आन्दोलनका कारण सयौँ व्यवसाय प्रभावित भएको र ठूलो आर्थिक क्षति भएको जानकारी दिँदै दोषीमाथि कारबाही नभए दण्डहीनताको अवस्था सिर्जना हुने चेतावनी दिए। महासंघले घटनाबाट भएको क्षतिको विवरण संकलन गरिरहेको छ। उनीहरूले सरकारलाई सकारात्मक सन्देश प्रवाह गरेर निजी क्षेत्रलाई आत्मविश्वासका साथ व्यवसाय गर्न सक्ने वातावरण बनाउन पनि आग्रह गरे।
मुलुकको कुल अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको छ भने रोजगारीको ८६ प्रतिशत हिस्सा निजी क्षेत्रले नै दिइरहेको बताउदै, यसको सुरक्षासँग मुलुकको सम्पूर्ण आर्थिक स्थायित्व जोडिएको छ भन्ने सन्देश पनि व्यवसायीहरूले सरकारलाई स्मरण गराएका छन्।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया