जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार साउन १४ गते दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको उल्लेख छ। आदेश उल्लंघन गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।
कर्फ्यूको क्षेत्र उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया गाउँपालिका–७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म तथा पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वतर्फ वेलौनी रोडस्थित एम.क्यू. स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प, हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराईन नगरपालिका क्षेत्रदेखि नगराईन चोकसम्म र पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल–बेला–कादरी मस्जिदसम्म तोकिएको छ। प्रशासनले कर्फ्यू अवधिभर आदेशको पूर्ण पालना गर्न तथा अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया