सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सिरहाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, सिरहाले बिहीबार सूचना जारी गर्दै दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार गोलबजार नगरपालिका क्षेत्रका तोकिएका स्थानमा कर्फ्यू लागू गरिएको हो। कर्फ्यू क्षेत्रअन्तर्गत पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ स्थित राप्र बहुमुखी क्याम्पस आसपासको क्षेत्र समेटिएको छ।
प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। स्थानीयवासीलाई कर्फ्यू अवधिमा प्रशासनको निर्देशन पालना गर्न र अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ।

प्रतिकृया