आफ्ना कमजोरी सुधार्यों भने वित्त परिचालनबाट विमुख हुनुु पर्दैन्

आफ्ना कमजोरी सुधार्यों भने वित्त परिचालनबाट विमुख हुनुु पर्दैन्

ढड्डाबाट डिजिटल बैंकिङसम्म आइपुगेको नेपाली बैंकिङ क्षेत्रको जननी नेपाल बैंक हो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको पहलमा १९९४ मा स्थापना भएको नेपाल बैंकले नेपालमा औपचारिक बैंकिङको सुरुवात भयो । यद्यपि नेपालमा बैंकिङ अवधारणा त्यसअघि नै थियो । सरदार गुञ्जमान सिंहले बेलायतमा रहँदा सिकेको बैंकिङ अभ्यासलाई नेपालमा लागु गर्न जुद्धशमशेरसँग हातेमालो गरेका थिए ।

८८ वर्षअघि स्थापित नेपाल बैंकले सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणालाई आत्मसात् गरेको थियो । एक करोड रुपैयाँ अधिकृत पुँजीसहित स्थापित नेपाल बैंकले २०१४ मा नेपाल राष्ट्र बैंकको स्थापना हुनुअघि केन्द्रीय बैंकका रूपमा समेत काम गथ्र्यो । वि.सं. २००२ मा नेपाल सरकारले नेपाली मुद्रा जारी गर्दा नेपाल बैंककै अधीन थियो भने सरकारको ढुकुटी पनि हेथ्र्यो । नेपालमा बैंक खाता, बैंक खाताका प्रकार, खाताका विशेषता, कर्जा र कर्जा प्रकारका विषयमा सर्वसाधारणलाई बैंकिङ शिक्षा प्रदान गर्नेे जग नेपाल बैंकले बनाएको हो । भौचर, लेजर, ब्यालेन्स सिट निर्माण गर्ने काम पनि नेपाल बैंकले नै सिकाएको हो ।

२०४० सालपछि संयुक्त लगानीका बैंक खुल्नुु अघिसम्म नेपालमा सरकारी स्वामित्वका चारवटा (नेपाल बैंक, कृषि विकास बैंक राष्ट्रिय वाणिज्य बैंक र औद्योगिक निगम) बैंक थिए । संयुक्त लगानीका र निजी क्षेत्रका बैंक आउनुपूर्व बैंकिङ क्षेत्रमा सरकारी बैंककै एकाधिकार थियो । प्राचीन तरिकाले चलेका बैंकहरूसँग प्रडक्टहरू दिनुपर्छ भन्ने अवधारणा पनि थिएन । कारोबारको आवश्यकता पनि सीमित थियो भने बैंकहरूले पनि सीमित सुविधा उपलब्ध गराउँथे । निक्षेप संकलन र ऋण लगानीमा पनि पर्याप्त ज्ञान नभएको अवस्थामा राष्ट्र बैंकका नियमहरू पालनामा पनि कतिपय बेला समस्या हुुन्थ्यो । तर, सन् २००३–२००४ मा बासेल ३ कार्यान्वयनमा ल्याएपछि भने केन्द्रीय बैंकका नियमहरू कडाइसाथ पालना हुन थालेको हो । सरसर्तीभन्दा संयुक्त लगानीका र निजी क्षेत्रबाट बैंकहरू खुुल्न थालेपछि मात्रै नेपालमा आधुनिक बैंकिङको सुरुवात भएको हो ।

संयुक्त लगानीका रूपमा स्ट्यान्डर्ड चार्टर्ड (तत्कालीन ग्रिनलेज) बैंक र नबिल बैंक (तत्कालीन नेपाल अरब बैंक) नेपाल आएपछि नयाँ–नयाँ किसिमका बैंकिङ प्रोडक्ट आउन थाले । औद्योगिक वा व्यावसायिक क्षेत्र पनि नयाँ नयाँ बैंकिङ प्रोडक्टमा रमाउन थाले । नयाँ बैंकहरू बजार नयाँ ढंगले गइरहँदा पनि सरकारी बैंकहरू प्रतिस्पर्धामा जान हच्किरहेको अवस्था थियो ।

बैंकिङ क्षेत्रका चुनौती
बैंकिङ क्षेत्र कहिल्यै पनि चुुनौतीरहित हुुँदैन । चुनौतीकै बीचबाट आफूलाई अब्बल साबित गर्न सकेमा मात्र बैंकिङ क्षेत्रमा आफ्नो पहिचान पनि सकिन्छ । तथापि पछिल्लो एक दशकमा नेपालको बैंकिङ क्षेत्रले विनाशकारी भूकम्प, कोरोना महामारी, भूराजनीतिक टकराव, आर्थिक मन्दी र आन्तरिक रूपमा सहकारीमा देखिएको विचलनको प्रभावलाई घटाउँदै सम्हालिएर अगाडि बढिरहेको छ । नेपालमा बैंकिङ सुुरु गरिँदाका वर्षहरूमा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकिङका नयाँ प्रविधि नेपालसम्म तत्कालै आइपुग्ने अवस्था थिएन । तर, अहिले विश्व बैंकिङमा के भइरहेको छ भन्ने तुरुन्तै जानकारी हुन्छ । नेपालमा बैंकिङ इतिहास ८८ वर्ष पूरा भए पनि आधुनिक बैंकिङको विकास भने पछिल्लो चार दशकमा अभूतपूर्व रूपमा भएको छ ।

पछिल्ला केही वर्षमा विश्वव्यापी देखिएको कोरोना महामारी, आर्थिक सुस्तता र विश्वव्यापी परिस्थितिका कारण नेपालको बैंकङ क्षेत्रले ठुलो समस्या सामना गरिरहेको छ । अझ अर्थतन्त्रलाई समस्यामुक्त बनाउन वित्तीय नीतिभन्दा मौद्रिक उपकरणको बढी प्रयोगले बैंकिङ क्षेत्र झन् समस्यामा फसेको छ । कोरोना महामारीजस्तो विषम् परिस्थितिलाई बैंकिङ क्षेत्रका कारण नेपालको अर्थतन्त्र धराशायी हुनबाट जोगिएको थियो अर्थात् बैंकिङ क्षेत्रले अर्थतन्त्रलाई ‘टेको’ लगाएको थियो भन्दा अत्युक्ति हुँदैन । कोरोना महामारीबाट सिर्जित समस्या समाधान गर्न मौद्रिक उपकरणलाई बढी प्रयोग गर्दाको असर अहिले वित्तीय क्षेत्रले सुस्तता भोगिरहेको छ । खासगरी सहुुलियत दरमा उत्पादन गर्न लिएका कर्जा अनुत्पादक क्षेत्रमा खपत भए पनि उचित निरीक्षण वा सुपरिवेक्षण नहुँदा अहिले समस्या आइरहेको छ ।

महामारीबाट उठ्दै गर्दा भूराजनीतिक परिवेशबाट नेपालले अर्थतन्त्र र नेपालको बैंकिङ क्षेत्र अछुतो रहन सकेन । समग्रमा वस्तुु तथा सेवाको मागमा गिरावट आउँदा उद्योगहरूको क्षमता उपयोग हुन सकेन । यसले व्यवसायीको मनोबल खस्कियो । उत्पादनमूलक उद्योग, निर्माण क्षेत्र सँगसँगै सहकारी, रियल स्टेट र सेयर बजारलगायत अर्थतन्त्रका धेरै क्षेत्रमा समस्या आयो । सहकारीमा व्यापक अनियमितता र विचलन देखिएपछि नेपाली अर्थतन्त्रको एक खम्बा भत्किएको महसुस भयो ।

सहकारीसँगको विश्वास तोडिँदा बैंकिङ क्षेत्रमा निक्षेप वृद्धि भएका कारण अहिले वित्तीय क्षेत्रमा अधिक तरलताको स्थिति सिर्जना भएको हो । लामो समयसम्म रियल स्टेट र सेयर बजार चलायमान नहुँदाको चक्रीय प्रभाव निर्माण क्षेत्रमा पनि प¥यो । औद्योगिक उत्पादन र निर्माणजन्य सामग्रीको माग एकैपटक खस्किँदा उत्पादनमा कमी आउन थाल्यो र त्यसले वित्तीय क्षेत्रमा कर्जाको माग मात्रै घटाएको होइन, पुरानो ऋण असुलीमा समेत समस्या पैदा भयो । अन्ततः सबै परिवेशको असर वित्तीय क्षेत्रमा पनि देखियो ।

ब्याजदर, लगानी र लगानीका पाटाहरूको अन्तरसम्बन्ध
सामान्य सिद्धान्त हेर्ने हो भने जब ब्याजदर घट्दै जान्छ लगानीको वातावरण बन्दै जान्छ । तर, अहिले ब्याजदर घट्दै जाँदा पनि लगानी अर्थात् कर्जाको माग बढेको छैन ।

डेढ वर्ष अघिसम्म उद्योगी व्यापारीहरूको मुख्य माग ब्याजदर घटेर एकल अंकमा आउनुुपर्छ र त्यसो नभएसम्म व्यावसायिक वातावरण निर्माण हुँदैन भन्ने थियो । तर, कर्जाको ब्याजदर ९ प्रतिशतभन्दा तल झरिसक्दा पनि कर्जाको माग आएको छैन । आर्थिक क्षेत्र चलायमान भएको छैन । वस्तु तथा सेवाको उपयोग बढ्न सकेको छैन । व्यापार व्यवसाय पनि सामान्य हिसाबले चलिरहेको छ । ठुला पूर्वाधारमा लगानी हुन सकेको छैन । नाफा सिर्जना हुन सकेको छैन । जसले गर्दा नयाँ उद्योगमा लगानी आउन सकेको छैन ।

लगानीको वातावरण बन्न नसक्नुलाई औद्योगिक तथा व्यावसायिक क्षेत्रले नीतिमा आइरहने तीव्र उतारचढावलाई मानेका छन् । उदाहरणका रूपमा स्टिल व्यवसायमा सरकारले तीन वर्षको अन्तरमा गरेको नीतिगत हेरफेरलाई लिन सकिन्छ । निर्माणका उद्योगहरू एक–अर्कामा अन्तरसम्बन्धित छन् । स्टिलको व्यापार बढ्नु निर्माण क्षेत्र मजबुत बन्नु हो । त्यसले सिमेन्ट तथा अन्य निर्माण सामग्रीको पनि माग बढाउन मद्दत गर्छ ।

अर्काेतिर सरकार आफैंले पनि पूर्वाधार निर्माणको काम प्रभावकारी रूपले अघि बढाउन सकेको छैन । सरकारी निर्माण गतिविधि ठप्प हुँदा वा पूर्वाधार निर्माण नहुँदा समग्र उद्योग क्षेत्रको मागमा कमी आइरहेको छ । निर्माण क्षेत्रका समस्या पनि उस्तै छन् । ती सबै क्षेत्रको समस्याको भार वित्तीय क्षेत्रमा देखिएको छ ।

कर्जा विस्तार र आर्थिक वृद्धिको सम्बन्ध
पछिल्लो दशकको कुरा गर्दा कर्जाको विस्तारको दर वार्षिक औसतमा १५ प्रतिशतभन्दा बढीले भएको छ । तर, अर्थतन्त्र मुस्किलले ४ प्रतिशनको औसतमा उकालो लागेको छ । कर्जा विस्तार र आर्थिक वृद्धिको खाडल (ग्याप) ले पनि बैंकिङ क्षेत्रको कर्जा लगानी फलदायी नभएको संकेत गर्छ । निजी क्षेत्र क्षणिक पुँजीगत लाभमा आकर्षित हुने र बैंकिङ क्षेत्रले पनि लगानीको उपयोगिता सुनिश्चित गर्न नसक्दा कतिपय अवस्था समस्या आएको छ ।
बैंकिङ क्षेत्रले पनि कतिपय बेला नाफालाई प्राथमिकता दिएर र व्यवस्थापकहरूले आफ्नो काम देखाउने होडबाजीमा प्रवाहित कर्जाको उपयोगमा प्रश्न गर्न सकेन । सामान्यतः बैंकबाट लिएको कर्जाको उपयोगबाट रोजगारी सिर्जना गर्ने वा कायम राख्ने, राजस्व बुुझाउने माहोल बनाउने र केही न केही उत्पादन नियमित बनाउन सहयोग गर्नुपर्छ । जुन प्रयोजनका निमित्त कर्जा प्रवाह भएको हो त्यसमा खर्च नभई घरजग्गा तथा सेयर किन्न खर्च हुँदा कर्जाको विस्तारले अर्थतन्त्र बृद्धिमा तात्त्विक असर पारेन । खासगरी कोरोना महामारीपछि जुन रफ्तारमा कर्जा विस्तार भयो र अनुत्पादक भनिएका क्षेत्रमा खर्च भयो त्यसको असर अहिले वित्तीय क्षेत्रले भोगिरहेको छ । नियामकले कर्जा विस्तारमा अंकुश लगाउन नसकेको र नाफाको लोभमा बैंकले कर्जा रोक्न नचाहँदा आज परिवेश अप्ठ्यारो बनिरहेको छ ।

तर, २० वर्षको तथ्यांक केलाउँदा कर्जा विस्तारले आर्थिक वृद्धिमा टेवा पु¥याउन नसकेको देखिन्छ । सामान्यतः १ प्रतिशत आर्थिक वृद्धिका लागि ३ प्रतिशत कर्जा विस्तार हुनुुपर्छ । ५ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य प्राप्त गर्न मौद्रिक नीतिले १५ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिनुपर्छ र सोहीअनुुरूप मौद्रिक उपकरण प्रयोगमा ल्याउनुुपर्छ । यद्यपि कर्जा विस्तार हुनेबित्तिकै आर्थिक वृद्धि हुने भन्ने होइन । कर्जा प्रवाह गर्ने, निर्माण वा उत्पादन हुने, रोजगार सिर्जना हुने र त्यसपछि आर्थिक वृद्धि हासिल हुने एउटा चक्र हुन्छ । कर्जा विस्तार र आर्थिक वृद्धिको पनि सोहीअनुसार सम्बन्ध हुनुपर्छ ।

कमजोरी कसको ?
नेपालको अर्थतन्त्र तीनखम्बे नीति (सार्वजनिक, निजी र सहकारी) मा आधारित छ । वस्तुुको मागसँगै उत्पादनमा कमी र निर्माण कार्यमा सुस्तताका कारण सरकारको राजस्वमा कमी आयो । राजस्व कटौती हुँदा स्रोत अभावमा सरकारले पुँजीगत खर्च गर्न सकेन । अर्कोतिर सरकार चाँडो–चाँडो परिवर्तन भइरहँदा ‘पोलिसी डिपार्चर’ हुन सकेन । तत्काल लोकप्रिय हुन ल्याइएका कतिपय नीतिको भार अर्थतन्त्रले खेप्नुुपर्यो ।

सरकारी नीति कमजोर हुँदा मौद्रिक नीति एक्लैले देशको विकास र अर्थतन्त्रलाई काँध हाल्न सकेन । राष्ट्र बैंकले निक्षेपकर्ताको निक्षेप सुरक्षण र मूल्य स्थायित्वमा ध्यान दिनुका अतिरिक्त निजी क्षेत्रलाई बचाइराख्न नियामकीय कर्तव्य पालना गर्दाको परिणाम अहिले सतहमा देखिएको छ ।

त्यस्तै, बैंकरहरूले भविष्यप्रति धेरै पूर्वमूल्यांकन गरेनन् । बैंकहरू तत्कालीन उतारचढावलाई हेरेर नाफा केन्द्रित हुँदा कर्जा गुणस्तर र उपयोगमा ध्यान गएन । जसका कारण अहिले निष्क्रिय कर्जाको अनुपात बढेका कारण बैंकहरूको कर्जा प्रवाह गर्ने क्षमता घट्न गयो । कर्जा लगानी ‘स्पेस’ भएन । अहिलले कतिपय बैंकको कर्जा विस्तार देखिएको छ तर, त्यो कर्जा बढेको नभई कर्जा ‘स्वाप’को असर हो ।

हामी अन्तर्राष्ट्रिय मूल्य–मान्यताअनुसार बैंकिङ अभ्यास गरे पनि भविष्यका सम्भावित चुनौती वा ब्याजदरको उतारचढावलाई नियाल्न सक्दैनौं । उपलब्ध आर्थिक तथ्यांकले पनि भविष्यको अवस्था आकलन गर्न सक्ने स्थिति छैन । निजी क्षेत्रका पनि आ–आफ्नै कमजोरी छन् । उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने, क्षणिक नाफाका लागि प्रतिस्पर्धा गर्ने, बैंकबाट लिएका कर्जाको पनि सदुपयोग नगर्नेजस्ता समस्या उद्योगी व्यवसायीमा छ । सरकार, राजनीतिक व्यक्ति, सञ्चार माध्यम, अर्थतन्त्रका मञ्चहरू, निजी क्षेत्रका छाता संगठन र अन्य जोकोहीले पनि सकारात्मक विषय उठान गरेर उद्योगी व्यवसायीको मनोबल उठाउनुुपर्छ ।

के गर्ने ?
सरकारको नीति निजी क्षेत्रको लक्ष्य र आमसर्वसाधारणको संलग्नता पनि कृषिलगायत आधारभूत ‘स्ट्रेन्थ’ मै हुनुपर्छ । अधिकांश नेपालीले कृषि जानेको छ । जोसुकै जानकार विज्ञ व्यवसायी बैंकर सबैको मुखमा नेपालका लागि उत्तम र प्राथमिकतामा राख्नुपर्ने विषय केही झुन्डिन्छ भने त्यो कृषि, पर्यटन र ऊर्जा हो ।

पर्यटनमा नेपाल एक किसिमले सक्षम हुँदै गइरहेको छ । देशमा स्थापित र सञ्चालित होटेलले ३५ लाख पर्यटकलाई सेवा दिन सक्छ । अझै होटेल खुुल्ने क्रममा छन् । पर्यटनका नयाँ गन्तव्य र गतिविधि उजागर र विकास हुँदै छ । नयाँ ट्रेकिङ रुटहरू खुल्दै छन् । यातायातको ‘कनेक्टिभिटी’ ले हिमाल, पहाड, तराई सीमित घण्टामा यात्रा गर्न सम्भव बनिसकेको छ । यद्यपि पर्यटन स्रोतसँगको कनेक्टिभिटी निकै कमजोर छ । पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र बन्दै गरेका सडकमार्गको पूर्णताले पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ ।

त्यस्तै, जलविद्युत्मा पनि एक किसिमको सक्षमता विकास भइसकेको छ । तीन हजार मेगावाट आन्तरिक उत्पादनले देशको माग धान्न सक्ने भइसकेको छ । छिमेकी मुलुक भारतले दीर्घकालमा १० हजार मेगावाट र बंगलादेशले पाँच सय मेगावाट विद्युत् खरिद गर्ने प्रतिबद्धता गरिसकेका छन् । त्यसैले ऊर्जाका भविष्य निकै उज्ज्वल छ ।

कृषि क्षेत्र केही कमजोर देखिएको छ । कृषि क्षेत्र उत्थान गर्न सरकारले दुई वर्षअघि ल्याएको सहुलियतले पर्याप्त उपलब्धि दिन सकेको छैन । अहिले पनि किसानहरू सहुलियतपूर्ण कर्जा मागिरहेका छन् । तर, हामी बैंकहरूले ऋण दिन सकिरहेका छैनौं किनकि कृषि क्षेत्रले भोग्दै आएको आपूर्ति चेनको समस्या उत्पादित वस्तुले बजार नपाउने स्थितिको अन्त्य गर्नु आवश्यक छ । उदाहरणका लागि दूध उत्पादक किसानका लागि मिल्क होलिडे कायम राख्ने र दूधमा पाउडर मिसाउनेजस्ता समस्या व्यापक रूपमा छ ।

समग्रमा नेपालको मूल समस्या लगानीको वातावरण नहुनु हो । पूर्वाधार र कनेक्टिभिटीमा उल्लेख्य फड्को मार्न सकेको स्थितिमा मुलुुक समृद्धितर्फ अग्रसर हुन्छ ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेयसँग विजय पराजुलीले गरेको कुराकानीमा आधारित

यो लेख नेपाल आर्थिक पत्र संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र २०८१ बाट लिइएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स