नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा हामीले पूँजी बजारका जानकार तथा अनुभवी विश्लेषक एवम् ब्रोकर नम्बर ६२, क्यापिटल म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष अतीत लाल श्रेष्ठसँग बजारको वर्तमान अवस्था, आगामी सम्भावना र लगानीकर्ताका लागि रणनीतिहरूको विषयमा कुराकानी गरेका थियौँ। प्रस्तुत छ श्रेष्ठ सँग गरिएको अन्तरवार्ताको सम्पादित अंश :
नयाँ वर्ष २०८२ को शुभकामना
“नयाँ वर्ष २०८२ का अवसरमा सम्पूर्ण लगानीकर्ता साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सबैको उत्तरोत्तर प्रगति होस्, र २०८१ साल सम्पूर्ण लगानीकर्ताहरूका लागि फलदायी तथा समृद्धिपूर्ण रहोस् भन्ने कामना गर्दछु।”
२०८२ सालको सेयर बजार कस्तो रहला?
“म २०८२ साल मेजर ट्रेन्ड सेट हुने अवस्था देखिरहेको छु। किनभने अहिले लगानीकर्ता नयाँ गभर्नरको पर्खाइमा हुनुहुन्छ। यदि साँच्चै पूँजी बजारमैत्री गभर्नर नियुक्त भएमा यसले पूरै बजारको स्वरूपनै परिवर्तन गर्न सक्छ।
अहिले बैंकहरू न्यूनतम मूल्यमा कारोबार भइरहेका छन्। यस्तो अवस्थामा, यदि नीति निर्माणमार्फत बैंकहरूको मुनाफा बढ्ने अवस्था सिर्जना भयो वा समग्र अर्थतन्त्र चलायमान बन्ने संकेत देखियो भने बजारमा उल्लेखनीय वृद्धि आउने सम्भावना प्रबल देखिन्छ।”
राजनीतिक अवस्था र गभर्नरको नियुक्तिले बजारमा कत्तिको प्रभाव पार्छ?
“यी सबै पक्षहरूले बजारमा अत्यन्त गम्भीर प्रभाव पार्छन्। गभर्नरको तहमा नीति बनाइन्छ, र ती नीति कार्यान्वयन हुँदा त्यसले सिधै बैंक तथा वित्तीय संस्थाहरूमा प्रभाव पार्दछ। त्यस्ता नीतिहरूले सेयर बजारमा स्थायित्व ल्याउने कि झनै गिरावट ल्याउने भन्ने कुरा तय गर्दछ। अहिले लगानीकर्ता ‘पर्ख र हेर्ने’ स्थितिमा हुनुको मुख्य कारण यही हो।
जस्तो कि, लघुवित्त संस्थालाई १५ प्रतिशतभन्दा बढी बोनस सेयर दिन नपाउने सिमा तोकिएको छ। बैंकहरूमा पनि विविध नियन्त्रण प्रणाली लागू गरिएको छ। यदि ती केही खुकुलो पारिएमा, अर्थतन्त्र चलायमान बन्नेछ र त्यसले समग्र पूँजी बजारलाई सकारात्मक दिशा दिन सक्छ।आजको परिस्थितिमा, अहिले अन्तर्राष्ट्रिय व्यापारमा ट्यारिफको प्रतिस्पर्धा भइरहेको छ र हाम्रो अर्थतन्त्र सिथिल हुँदै गएको छ, त्यस्तो अवस्थामा पूँजी बजार नै त्यस्तो माध्यम बन्न सक्छ जसले सम्पूर्ण आर्थिक प्रणालीलाई चलायमान बनाउन सक्छ। अहिले घरजग्गा क्षेत्रमा फसेका धेरै व्यक्तिहरू छन्, उनीहरूलाई समेत पूँजी बजारले विकल्प दिन सक्छ।त्यसैले, लगानीकर्तामैत्री गभर्नरको नियुक्ति भयो भने बजारले यसै वर्ष अर्थात् २०८२ मै उच्चतम बिन्दु पार गर्ने सम्भावना प्रबल छ।”
कुन क्षेत्र र कम्पनीहरूमा लगानी गर्दा उपयुक्त हुन्छ?
“यदि लगानीको दृष्टिकोणबाट हेर्ने हो भने अहिले तेस्रो त्रैमासिकको आर्थिक विवरण आउने क्रममै छ। त्यसले समग्र वर्षको पूर्वानुमान गर्न मद्दत गर्दछ।
बैंकहरू अहिले अत्यन्त सस्तो मूल्यमा कारोबार भइरहेका छन्। जसमा राम्रो प्रतिफल दिने क्षमता छ। उच्च आम्दानी र लाभांश दिन सक्ने यस्ता बैंकहरूमा अहिलेको अवस्थामा लगानीकर्ताले क्रमिक रूपमा एसआईपी जसरि लगानी गर्दा पनि हार्दैनन् जस्तो लाग्छ।
किनभने, बजार अहिलेको अवस्थामा बटम पोइन्टमा पुगिसकेको छ। अहिलेको ब्याजदरलाई आधार मानेर विश्लेषण गर्दा बजार यसभन्दा तल झर्ने सम्भावना न्यून देखिन्छ। अब या त स्थिर रहन सक्छ, या त बढ्नेछ भन्ने अनुमान गर्न सकिन्छ।”
लगानीकर्ताहरूका लागि सुझाव
“२०८२ सालमा सबै लगानीकर्ताहरूले सोचविचार गरी सही निर्णय गर्न सकून् भन्ने शुभकामना दिन चाहन्छु।
साथै अहिले बजारमा ट्रेन्डको आधारमा कारोबार गर्ने चलन चलेको छ। यस्तोमा ट्रेन्डलाई आत्मसात गर्दै लगानीकर्ताहरूले अब आफ्नो लगानीलाई क्रमशः भ्यालुड स्टकहरूमा केन्द्रित गर्दै पोर्टफोलियोलाई मजबुत बनाउनेतर्फ अग्रसर हुनुपर्छ।
लगानीकर्तालाई मा लगभग सत्तरी प्रतिशत हिस्सा इन्भेष्टमेन्टमा बढाउँदै लैजान र बाँकी तीस प्रतिशत हिस्सा ट्रेडिङ गर्दै बजारमा आफ्नो डिसिजन मेकिङ गर्दा अझै राम्रो हुन्छ भन्ने सल्लाह सुझाब दिन्छु।
यसमा आधारभूत विश्लेषण र प्रविधिक विश्लेषणलाई पनि ध्यान दिन जरुरी छ। यी दुई आधारमा विश्लेषण गरेर निर्णय गरियो भने अझ राम्रो नतिजा आउनेछ।”
२०८२ सालमा बजारले सबैभन्दा उच्च बिन्दु पार गर्ला?
“मलाई लाग्छ २०८२ सालमा बजारले अहिलेसम्मकै उच्च बिन्दु पार गर्ने सम्भावना अत्यन्तै प्रबल छ।
यदि साँच्चिकै पूँजी बजारमैत्री गभर्नरको नियुक्ति भयो भने, अहिलेको विन्दुबाट अघिल्लो उकालोको उच्चतम बिन्दुभन्दा अझ माथि जान बजार सक्षम हुन्छ। मलाई लाग्छ, त्यो बिन्दु पार गर्नु अब ठूलो कुरा होइन। सहजै सम्भव छ।”










![के नेप्सेले बटम लगाउँदैछ? टेक्निकल एनालाइसिसले के भन्छ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-5-768x432.jpg)







प्रतिकृया