राजेन्द्र लिङ्देनले नेताहरू भ्रष्ट भएकाले देश निर्माण हुन नसकेको आरोप लगाएका छन्। झापा–३ बाट उम्मेदवार समेत रहेका उनले सोमबार बनियानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै राजनीतिलाई नेताहरूले “कमाई खाने भाँडो” बनाएको बताए। उनले भने, “नेताहरू भ्रष्ट भए। राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए।”
राप्रपा अध्यक्ष लिङ्देनले आफू जस्तो बेदाग नेता समकालीन राजनीतिमा दुर्लभ भएको दाबी गर्दै विद्यार्थी राजनीतिदेखि क्लबको अध्यक्ष, पार्टी इकाइ अध्यक्ष, पार्टीको केन्द्रीय अध्यक्ष हुँदै उपप्रधानमन्त्री हुँदा समेत आफूमा कुनै राजनीतिक दाग नलागेको बताए। उनले थपे, “विद्यार्थी राजनीतिदेखि पार्टीको विभिन्न तहको अध्यक्ष हुँदै उपप्रधानमन्त्री हुदासम्म ममाथि कुनै राजनीतिक दाग लागेको छैन। त्यसैले म आफै भन्न सक्छु, यति लामो राजनीतिक जीवनमा बेदाग बस्न सक्ने समकालीन राजनीतिमा म एक्लो नेता हुँ।”
लिङ्देनले देश लुटिन लागेको अवस्थामा आफू निर्वाचित हुनु आवश्यक रहेको भन्दै झापा–३ बाट लगातार दुई पटक निर्वाचित भएर देश र जनताविरूद्ध कुनै नराम्रो काम नगरेको जिकिर गरे। उनी प्रतिनिधिसभा सदस्य पदका लागि पाँचौं पटक चुनावी मैदानमा छन्। उनले २०५६ र २०७० मा पराजय भोगेका थिए भने २०७४ र २०७९ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै निर्वाचित भएका थिए।
















प्रतिकृया