देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहेकाले वर्षाको गतिविधि सक्रिय रहेको छ।
प्रतिकृया