राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (मङ्गलबार) र भोलि (बुधबार) देशका अधिकांश भू–भागमा मेघगर्जनसहित भारी वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका आधारमा कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी तथा खोलाको जलस्तर वृद्धि, कटान तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्नेछ।
खोला तथा नदी किनारका बस्ती, पहिरोको जोखिममा रहेका क्षेत्र तथा डुबान हुन सक्ने स्थानका नागरिकलाई अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानको पहिचान गरी तयारी अवस्थामा रहन तथा आवश्यक परे सुरक्षित आश्रयस्थलमा जान प्राधिकरणले अनुरोध गरेको छ।
त्यसैगरी, तीनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
प्राधिकरणले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न तथा विपत् सहायता आवश्यक परे ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर प्रयोग गर्न अनुरोध गरेको छ।
साथै, जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न नागरिकलाई आग्रह गरिएको छ। मौसम सक्रिय भएसँगै बाढी, पहिरो र डुबानका घटना बढ्न सक्ने भएकाले समयमै सतर्कता अपनाउनु नै सम्भावित क्षति न्यूनीकरणको प्रभावकारी उपाय हुने प्राधिकरणले जनाएको छ।

प्रतिकृया