नेपाल वायु सेवा निगमले गुल्मी र काठमाडौँबीचको हवाई उडान तालिका परिवर्तन गरेको छ। निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकोमा अब केही समयका लागि बिहीबार मात्रै उडान हुने जनाएको छ।
रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार निगमका दुईवटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएकाले हाल एउटा मात्र जहाज सञ्चालनमा रहेको छ। यही कारण नियमित तालिकामा अस्थायी परिवर्तन गरिएको हो। उनका अनुसार काठमाडौँबाट गुल्मीका लागि बिहान ६ः३० बजे र गुल्मीबाट काठमाडौँका लागि बिहान ७ः३० बजे ट्वीनअटर जहाज उडान गर्ने तालिका कायम गरिएको छ। १८ सिट क्षमताको सो जहाजमा काठमाडौँ–गुल्मी भाडादर सात हजार ५०० र गुल्मी–काठमाडौँ भाडादर सात हजार ३०० तोकिएको छ।
प्रतिकूल मौसमका कारण करिब डेढ महिनासम्म गुल्मीमा नियमित हवाई सेवा प्रभावित भएको थियो। बाक्लो हुस्सु र खराब मौसमका कारण पटकपटक उडान स्थगित हुने गरेको छ। नेपाल वायु सेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलमा व्यावसायिक उडान सेवा विसं २०८० वैशाख २९ गतेदेखि सुरु गरेको हो।
















प्रतिकृया