गभर्नर पौडेलले भने, “५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ”
गभर्नर विश्वनाथ पौडेलले यतिबेला लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको बताएका छन् ।
आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले भने, “अहिले बैंकमा निक्षेप उच्च रहेको र विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त छ, जसले दिगो र सन्तुलित विकासका लागि लगानीको अवसर सिर्जना गरेको छ।”
राष्ट्र बैंकसँग बैंकहरूले जम्मा गरेका ५ खर्ब २० अर्ब रुपैयाँ रकम रहेको उल्लेख गर्दै उनले अब वित्त नीतिले नेतृत्व गरेर ऊर्जा जस्ता लगानी क्षेत्रहरूका साथै अन्य क्षेत्रहरू पहिचान गर्नुपर्नेमा जोड दिए ।
मौद्रिक नीति र वित्त नीतिबीच समन्वय गरेर अघि बढ्नुपर्ने समय आएको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको नियमनमा माइक्रो इकोनोमिक दृष्टिकोणले सोच्नुपर्ने अवस्था रहेको उनले बताए ।
ग्रामीण क्षेत्रमा चाहेअनुसार ऋण पुग्न नसकेकोले आगामी मौद्रिक नीतिले यसलाई सम्बोधन गर्ने उनले बताए ।
‘जुन क्षेत्रमा ऋण जानुपर्ने हो, त्यहाँ नपुगेको गुनासो छ, त्यसलाई सम्बोधन गर्ने प्रयास आगामी मौद्रिक नीतिमा हुनेछ’ उनले भने ।
सबै क्षेत्रलाई समेट्ने र सबैलाई माथि लैजाने मौद्रिक नीतिको प्राथमिकता रहने उनले बताए । दिगो विकासलाई राष्ट्र बैंकले सधैं प्राथमिकता दिने पौडेलको भनाइ छ ।