अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार संस्थागत कब्जा, नीतिगत सेटिङ र भ्रष्ट–राजनीति तथा व्यवसायीबीचको अपवित्र सम्बन्ध तोड्न सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्।
बाह्रखरी मिडियाले आयोजना गरेको एक कार्यक्रममा उनले विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने गरेको बताए। उनका अनुसार ‘एलिट’ वर्गको राजनीतिक तथा संस्थागत कब्जा, नीतिगत मिलेमतो र भ्रष्टाचारयुक्त संरचनाको अन्त्य गर्ने दिशामा सरकार केन्द्रित छ।
वाग्लेले सरकार नयाँ सुरुवातको संकेत दिन चाहिरहेको बताउँदै विगतका कमजोरीहरू दोहोरिन नदिन निजी क्षेत्रलाई पनि जिम्मेवार बन्न आग्रह गरे। उनले गलत अभ्यासलाई संरक्षण नगर्न चेतावनी दिँदै सरकारको उद्देश्य कारबाही होइन, प्रणाली सुधार रहेको स्पष्ट पारे।
उनका अनुसार निजी क्षेत्रबाट सरकार कठोर हुँदैछ भन्ने आशंका देखिए पनि वास्तविकता त्यस्तो नभई ‘फोहोर सफा गर्ने’ सुधार प्रक्रिया मात्र अघि बढिरहेको हो, जसलाई सावधानीपूर्वक कार्यान्वयन गरिँदैछ।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रमैत्री नीति, उदार अर्थतन्त्र, लगानी प्रवर्द्धन, निजी सम्पत्तिको सुरक्षा र कर प्रणालीलाई सरल बनाउने स्पष्ट मोडेल प्रस्तुत गरिने जानकारी दिए।
उनले निजी क्षेत्रलाई इमानदारिताको आधारमा अघि बढ्नुपर्ने उल्लेख गर्दै लगानीमैत्री वातावरणमार्फत स्वदेशी, विदेशी र प्रवासी लगानी आकर्षित गर्ने सरकारको लक्ष्य रहेको बताए।
साथै, उनले काठमाडौं महानगरमा मेयर बालेन्द्र शाह (बालेन) को कार्यकाललाई सुशासनको उदाहरणका रूपमा उल्लेख गर्दै ठूलो बजेट परिचालनका बाबजुद पनि भ्रष्टाचारको आरोप नलाग्नु सकारात्मक संकेत भएको बताए।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया