काठमाडौँ महानगरपालिका कानून तथा मानव अधिकार विभागले गोरखा मिडिया नेटवर्क प्रा.लि.का नाममा १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
काठमाडौँ महानगरपालिका वडा नं. ३ बस्ने वादी मृगेन्द्र प्रसाद मिश्र र प्रतिवादी गितेन्द्र बाबु राई (गोरखा मिडिया नेटवर्कका अध्यक्ष) बीचको “भाडा असुल उपर गरी घरजग्गा खाली गराई पाऊँ” सम्बन्धी मुद्दामा न्यायिक समितिले वादीको दाबीअनुसार घरजग्गाको बहाल रकम तथा बहाल कर असुल गरी घरजग्गा खाली गराउने निर्णय गरेको थियो।
उक्त निर्णयलाई मिति २०८२ साउन २८ गते उच्च अदालत पाटनबाट २ महिनाभित्र कार्यान्वयन गर्न परमादेश जारी भएको थियो। सो आदेशअनुसार महानगरपालिकाले २०८२ कात्तिक १४ गते डोर खटाई निर्णय कार्यान्वयन गरिसकेको जनाएको छ।
निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि वादी मृगेन्द्र मिश्रले Galaxy 4K मा रहेका सामान लिलाम गर्न माग गर्दै २०८३ वैशाख २१ गते निवेदन दिएका थिए।
त्यसैअनुसार महानगरपालिकाले सूचना प्रकाशित गर्दै सम्बन्धित पक्षलाई १५ दिनभित्र बहाल रकम बुझाई आफ्नो सरसामान लैजान अन्तिम अवसर दिएको छ। तोकिएको समयभित्र सामान नलगेमा काठमाडौँ महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम सामान लिलाम गरिने चेतावनी समेत दिइएको छ।


प्रतिकृया