जेनजी आन्दोलन: प्रचण्ड र देउवालाई पनि जाँचबुझ आयोगले पठायो प्रश्नपत्र

जेनजी आन्दोलन: प्रचण्ड र देउवालाई पनि जाँचबुझ आयोगले पठायो प्रश्नपत्र

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिका विध्वंसबारे जाँचबुझ गर्न गठित आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको थियो। आयोगले दुवै नेतालाई आफ्नो धारणा राखिदिन आग्रह गरेको थियो, तर सुरुमा उनीहरूले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सँगको समन्वयबाट पठाइएको पत्र बुझ्न अस्वीकार गरेका थिए।

कांग्रेस सभापति देउवाले भदौ २४ गतेको आगजनीबाट आफू पीडित भएको र निवास जलेर नष्ट भएकोले अन्यत्र बस्नु परेको बताएका थिए। उनले जेनजी आन्दोलनका बेला आफू राज्यको कुनै भूमिकामा नरहेको भन्दै बयान दिन आवश्यक नरहेको प्रश्न उठाए। त्यसैगरी प्रचण्डले पनि आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेकाले र सत्तामा रहेकाहरूमाथि खबरदारी गरिरहेको अवस्थालाई आधार मान्दै आफ्नो घरमा आगजनी भएको अवस्थामा बयान दिन नचाहेको स्पष्ट पारेका थिए।

तर आयोगका कर्मचारी र सुरक्षा अधिकारीहरूले पत्र बयानका लागि मात्र पठाइएको र सोधपुछको अवसर दिने स्पष्ट पारे। आयोगले सहयोग नगर्ने अवस्थामा सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना प्रकाशित हुने र त्यसपछि त्यही जानकारी प्रतिवेदनमा समावेश हुने चेतावनी दिएपछि दुवै नेताले केही घण्टाको फरकमा पत्र बुझ्न बाध्य भएका छन्। हालसम्म उनीहरूले आयोगमा उपस्थित भएर बयान दिने वा लिखित जवाफ दिने निश्चित निर्णय गरेका छैनन्।

भदौ २४ गतेको आन्दोलनमा देशभरि विभिन्न स्थानमा आगजनी र तोडफोड भएको थियो। देउवा आफ्नै बूढानिलकण्ठ निवासमा थिए, जहाँ प्रदर्शनकारीले प्रहरीको सुरक्षा छिचोल्दै प्रवेश गरे र देउवा तथा उनकी श्रीमती आरजु राणालाई पनि कुटपिट गरे। पछि नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको थियो। प्रचण्ड आन्दोलनका बेला सिंहदरबारभित्र रहेका थिए र उनलाई पनि सेनाले सुरक्षित निकालेको थियो। दुवै नेताको घरमा आगजनी र तोडफोड भएको थियो।

आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिन तयारी गरिरहेको छ। आयोगका पदाधिकारी स्वयं उपस्थित भएर बयान लिनसक्ने स्रोतले बताए, तर कहिले बयान लिने भन्ने कुरा यकिन भएको छैन। यसअघि आयोगले एक सय ५० भन्दा बढी व्यक्तिसँग बयान र घटना विवरण संकलन गरिसकेको छ। केही दिनअघि मात्रै तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिइएको थियो। त्यसअघि आइजिपी दानबहादुर कार्की, पूर्वआइजिपी चन्द्रकुबेर खापुङ, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, र सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल लगायतको पनि बयान लिइसकिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स