महामन्त्री थापा भन्छन्, “सहकारी ठग्ने होस् वा मान्छे बेच्ने होस्, अपराधीलाई कारबाही हुनैपर्छ”

महामन्त्री थापा भन्छन्, “सहकारी ठग्ने होस् वा मान्छे बेच्ने होस्, अपराधीलाई कारबाही हुनैपर्छ”
AdvertisementAds

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि दल वा सत्तासँग निकट भएकै आधारमा अपराध गर्ने व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशनमा बोल्दै उनले भ्रष्टाचार र अपराधको विरुद्ध स्पष्ट अडान लिने प्रतिबद्धता व्यक्त गरे।

महामन्त्री थापाले दल विशेषको सदस्यता अपराध लुकाउने साधन बन्न नहुने उल्लेख गर्दै भने, “गलत गर्ने जोसुकै होस्— चाहे आफ्नै पार्टीको, विपक्षी दलको, घण्टी बजाउने, डमरू बजाउने, सार्वजनिक जग्गा लुट्ने वा मान्छे बेच्ने— अपराधी भनेको अपराधी नै हो। कांग्रेसमा छ, जय नेपाल भन्छ भन्दैमा कोही निर्दोष हुँदैन।”

उनले वर्तमान तीन वटै तहको सरकारमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको भन्दै अब कांग्रेसले देश बिग्रिएको भनेर गुनासो मात्र गर्न नहुने बताए। बरु हरेक नागरिकले कांग्रेसको उपस्थिति महसुस गर्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।

त्यसैगरी, कांग्रेसकै नेताहरुले पनि कुनै गल्ती गरेको भए सरकारले निस्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको धारणा थियो। “यदि कांग्रेसको कुनै नेताले, मन्त्रीले सहकारी ठगी वा अन्य कुनै भ्रष्टाचार गरेको छ भने, सरकारले अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुपर्छ।”

महामन्त्री थापाले आफैं पनि नियमभन्दा माथि नभएको बताउँदै भने, “म महामन्त्री हुँ, तर मैले कुनै गल्ती गरे भने मलाई पनि अनुसन्धानको दायरामा ल्याउनुहोस्। मेरो गल्तीको भारी अरूलाई बोकाउँदिन, अरू कसैले पनि बोकाउनु हुँदैन।”

AdvertisementAds

अन्त्यमा, उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आग्रह गर्दै कांग्रेसका कुनै नेताले अपराध गरे दोषी प्रमाणित भएमा कारबाही गर्न सरकारलाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स