वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित बनाउन सरकार केन्द्रित: श्रममन्त्री यादव

वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित बनाउन सरकार केन्द्रित: श्रममन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई तत्काल रोक्न सम्भव नरहेको भन्दै यसलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउने दिशामा सरकार केन्द्रित रहेको बताएका छन्।

मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वव्यापीकरणको वर्तमान परिवेशमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न नसकिने स्पष्ट पारे। बरु यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्दै श्रमिकको हित संरक्षण गर्नु सरकारको प्राथमिकता रहेको उनको भनाइ छ।

मन्त्री यादवले वैदेशिक रोजगारसम्बन्धी ठगीलाई न्यूनीकरण गर्दै अन्ततः शून्यमा झार्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताए। वर्षौंदेखि थन्किएर रहेका उजुरी फाइलको व्यवस्थापन गरी दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।

उनका अनुसार विसं २०५७ सालदेखि विभागमा थन्किएका ४० हजारभन्दा बढी उजुरीका फाइल हालै फेला परेका छन्। दशकौँसम्म बेवास्तामा परेका ती फाइललाई व्यवस्थित गरी डिजिटलाइज गरिनेछ। त्यसपछि विस्तृत अनुसन्धानमार्फत पीडितलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइने मन्त्रालयको तयारी रहेको उनले बताए।

यसैबीच, वैदेशिक रोजगारीका क्रममा ठगिएका श्रमिकलाई सहज रूपमा न्यायको पहुँच दिलाउन सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ।

ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा मन्त्री यादवले ‘उजुरी डोफे गभर्मेण्ट नेपाल’ नामक पोर्टलको औपचारिक शुभारम्भ गरेका हुन्।

यसअघि वैदेशिक रोजगारीका नाममा हुने ठगी, बढी रकम असुली तथा अनुमतिविना विदेश पठाइएका घटनाका पीडितले उजुरी दिन विभागमै पुग्नुपर्ने व्यवस्था थियो। नयाँ प्रणाली लागू भएपछि अब उनीहरूले घरबाटै अनलाइनमार्फत उजुरी दर्ता गर्न सक्नेछन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स