अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्यसहित तयार गरिएको बताएका छन्। प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले स्पष्ट मार्गदर्शक आधार तय गरेर बजेट निर्माण गरेको जानकारी दिए।
अर्थमन्त्रीका अनुसार आगामी बजेट पाँच मुख्य आधारमा केन्द्रित हुनेछ।
१. सुशासनको लाभांश
सरकारले सुशासनलाई आर्थिक सुधारको मुख्य आधार बनाएको उनले बताए। प्रणाली सुधारबिना अर्थतन्त्र सुधार सम्भव नहुने भन्दै उनले राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जा गर्ने प्रवृत्तिविरुद्ध कठोर हुने स्पष्ट पारे।
२. अर्थतन्त्रको पुनर्संरचना
वर्तमान अर्थतन्त्रले नागरिकको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको भन्दै त्यसलाई पुनर्संरचना गर्ने गरी आगामी बजेट अघि बढाइने उनले बताए।
३. एकीकृत पूर्वाधार विकास
छरिएको विकासभन्दा एकीकृत पूर्वाधार विकासमा जोड दिइने सरकारको नीति रहेको उनले उल्लेख गरे।
४. सामाजिक लगानी
शिक्षा, स्वास्थ्य र सामाजिक न्यायलाई केन्द्रमा राखेर सामाजिक लगानी विस्तार गरिने उनले बताए।
५. बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्ध र सौम्य शक्ति सुदृढीकरण
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई विविधिकरण गर्दै देशको ‘सौम्य शक्ति’ (सफ्ट पावर) मजबुत बनाउने नीति बजेटमा समेटिने उनले जानकारी दिए।
















प्रतिकृया