अर्थमन्त्रीको आर्थिक ‘बाचा’: २ वर्षमा राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुने, डिजिटल अर्थतन्त्र र एआईमा सरकारको जोड

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १४ गते
अर्थमन्त्रीको आर्थिक ‘बाचा’: २ वर्षमा राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुने, डिजिटल अर्थतन्त्र र एआईमा सरकारको जोड

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) ले आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। सरकारको दाबी अनुसार यही गति कायम राख्न सके पाँचदेखि सात वर्षभित्र नेपालको प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर नाघ्नेछ भने अर्थतन्त्रको आकार करिब १ खर्ब अमेरिकी डलर नजिक पुग्नेछ।

श्वेतपत्रले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने आधारहरू समेत प्रस्तुत गरेको छ। ती आधारमध्ये ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई मुख्य चालकका रूपमा अघि सारिएको छ।

ऊर्जा क्षेत्रमा आगामी पाँच वर्षभित्र विद्युत उत्पादनको कुल जडित क्षमता १५ हजार मेगावाटसम्म पुर्‍याउने लक्ष्य राखिएको छ। साथै, राष्ट्रिय गौरवका आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने र नयाँ रणनीतिक आयोजना अघि बढाउने योजना रहेको उल्लेख छ। यसले निजी क्षेत्रको लगानी आकर्षित गर्दै समग्र आर्थिक वृद्धिलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

कृषि क्षेत्रतर्फ आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिँदै उद्योग र पर्यटनसँग यसको बलियो अन्तरसम्बन्ध विकास गर्ने नीति लिइएको छ। यसबाट उत्पादनमूलक रोजगारी वृद्धि हुने विश्वास सरकारको छ।

पर्यटन क्षेत्रलाई पनि आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ। गुणस्तरीय पूर्वाधार विकास, सेवाको स्तर सुधार र आवागमनमा सहजता ल्याएर पर्यटक आगमन बढाउने तथा रोजगारी र आम्दानी विस्तार गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, कृत्रिम बौद्धिकता सहित सूचना प्रविधिको व्यापक प्रयोगमार्फत डिजिटल अर्थतन्त्र निर्माण गर्ने रणनीति पनि श्वेतपत्रले अघि सारेको छ। यसबाट उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यातमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स