अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउमा सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले नेपालमा लगानीको वातावरण बनाउन सरकारले नीतिगत सुधार अघि बढाइरहेको बताएका हुन्।
सरकारले लगानीको माहोल निर्माण, देशभित्र रोजगारी सिर्जना तथा एआई र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने रणनीति कार्यान्वयन गरिरहेको उनले बताए।
“प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्। पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रहरूमा लगानी गर्नुहोस्,” उनले भने।
बजेटमार्फत २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन काम भइरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जनालाई सरकारले प्राथमिकता दिएको बताए। सरकारको आम्दानी बढाउन कर प्रणालीमा समेत सुधार गरिएको उनको भनाइ छ।
“पहिलो वर्ष सुधारको सुरुआत गर्यौँ, दोस्रो वर्ष अझै फराकिलो सुधारको काम अघि बढ्नेछ। तेस्रो र चौथो वर्ष सुधारको नतिजा देखिनेछ। चौथो र पाँचौँ वर्षमा यसको प्रतिफल जनताले पाउनेछन्,” उनले भने।
अर्थमन्त्री वाग्लेले आर्थिक सुधार र विकासका लक्ष्य पूरा गर्न आन्तरिक स्रोत महत्वपूर्ण रहेको बताए। बाह्य लगानीको स्रोत अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनले प्रवासी नेपालीको पुँजी, ज्ञान र सीप नेपालका लागि आवश्यक रहेको उल्लेख गरे।
प्रवासको पुँजी र लगानी नेपाल भित्र्याउने विषय पार्टीको घोषणापत्रमै समेटिएको र सरकारले पनि त्यसका लागि विशेष पहल गरिरहेको उनले बताए।
“निर्वाचनको घोषणापत्रमा पनि हामीले सफ्ट पावरको उपयोगका कुरा गरेका थियौँ। अहिले सरकारले डायस्पोराको लगानी र ज्ञान नेपाल भित्र्याउने नीति लिएको छ। केही दिन अघि मात्रै हामीले धितोपत्र बाँडफाँड तथा निष्काशन नियमावलीमा संशोधन गरेर नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्याएका छौँ,” अर्थमन्त्रीले भने, “आउनुहोस्, ढुक्क भएर लगानी गर्नुहोस्। आफ्नो ज्ञान र सीपलाई यहाँ प्रयोग गर्नुहोस्।”
सरकारले रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेको उल्लेख गर्दै अर्थमन्त्रीले त्यसका लागि आवश्यक सीप र ज्ञान भएका प्रवासी नेपालीले समेत सहभागिता जनाउन सक्ने बताए।
प्रतिकृया