‘१६ पाना गायब’ विवादमा अर्थमन्त्री वाग्लेको स्पष्टीकरण, विधेयकमा अनधिकृत परिवर्तन भएको छैन

‘१६ पाना गायब’ विवादमा अर्थमन्त्री वाग्लेको स्पष्टीकरण, विधेयकमा अनधिकृत परिवर्तन भएको छैन

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधन कुनै गलत नियतले नभई प्राविधिक त्रुटि सच्याउन र जनताको हितलाई ध्यानमा राखेर गरिएको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले बजेट निर्माणका क्रममा भएका केही कमजोरीलाई लिएर अनावश्यक भ्रम फैलाइएको बताए।

उनले सद्मा पेश भइसकेको विधेयकमा सामान्यतया संशोधन नगरिने तर आवश्यक र महत्वपूर्ण विषय देखिएमा सुधार गर्न सकिने उनले बताए।

‘१६ पाना गायब’ भएको आरोप अस्वीकार

आर्थिक विधेयकबाट १६ पाना हटाइएको र सामग्री परिवर्तन गरिएको भन्ने आरोपलाई अर्थमन्त्री वाग्लेले अस्वीकार गरेका छन्।

उनले विधेयकमा कुनै अनधिकृत परिवर्तन नगरिएको दाबी गरे। पानाको संख्या फरक देखिनु प्राविधिक कारणले हुन सक्ने उनको भनाइ थियो।

उनले भने, “४५७ पानाको दस्तावेजमा ढाँचा मिलाउँदा पानाको संख्या बढ्न वा घट्न सक्छ। तर सामग्रीमा एउटा थोप्लो, कमा वा पूर्णविरामसमेत परिवर्तन भएको छैन।”

उनले संसद् सचिवालयलाई जेठ १७ गते नै संशोधनबारे जानकारी गराइएको भन्दै जनहितका लागि गरिएको सुधारलाई अनावश्यक विवाद बनाइएको बताए।

वाग्लेले यो विषयलाई “चियाको कपमा तुफान ल्याउने प्रयास” भएको टिप्पणी गरे।

विद्युतीय गाडी र करसम्बन्धी व्यवस्था

अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधन महँगो नहोस् भन्ने सरकारको नीति रहेको बताए।

यसका लागि छुटेको सडक निर्माण दस्तुरसम्बन्धी व्यवस्था पनि संशोधनमार्फत थपिएको उनले जानकारी दिए।

त्यस्तै, विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर अन्तिम उपभोक्ताले तिर्ने गरी स्पष्ट पारिएको उनले बताए। उत्पादक र सम्बन्धित निकायबीच हुने कारोबारमा यस्तो कर लागू नहुने उनको भनाइ थियो।

बालबालिकाको शिक्षामा गरिएको खर्चमा कर छुट तथा महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा रहेका चलचित्र घर र नाट्यघरलाई आयकर छुट दिने व्यवस्था पनि संशोधनमार्फत समेटिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स