अर्थमन्त्री रामेश्वर खनालले उद्योग तथा व्यापार क्षेत्रमा लगानी वृद्धि गराउन सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्। मोरङ उद्योग व्यापार सङ्घद्वारा आयोजित १० दिने ‘विराट ट्रेड एक्स्पो–२०२५’ को उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रको सहयोगबिना मुलुकमा समृद्धि सम्भव नहुने उल्लेख गरे।
करदाताको लागत र समय कम गर्ने उद्देश्यसहित स्थानीय तहमा कर सेवा प्रणाली विस्तार गरिँदै आएको जनाउँदै उनले सोही क्रमअन्तर्गत आज मोरङको केराबारीमा कर सेवा कार्यालय स्थापना गरिएको जानकारी दिए। अर्थमन्त्री खनालले आयातमा देखिएका समस्या समाधान गर्न सरकार सक्रिय रहेको बताउँदै व्यवसायीमाथि विश्वास गर्न सकिएमा राजस्व वृद्धि हुने स्पष्ट पारे। जेनजी आन्दोलनका क्रममा मुलुकले करिब ८४ अर्ब रुपैयाँको क्षति बेहोर्नु परेको उल्लेख गर्दै उनले यस्ता घटना पुनः नदोहोरिन नागरिक सचेत हुनुपर्ने धारणा राखे।
उनले सरकारले घोषणा गरेको निर्वाचन तोकिएकै समयमा हुने भन्दै यस विषयमा कुनै शङ्का नगर्न आग्रह गरे। कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले राष्ट्रिय पुँजी निर्माणमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। त्यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराट एक्स्पोले आर्थिक विकास र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।




















प्रतिकृया