देशलाई निकाश दिने अन्तिम विकल्प निर्वाचन मात्रै हो : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अहिलेको राजनीतिक र सामाजिक परिस्थितिबाट निकाश दिने अन्तिम विकल्प निर्वाचन भएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) द्वारा बुधबार आयोजना गरिएको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकको सर्वपक्षीय राष्ट्रिय सम्वादमा उनले भने, “अहिले देश जुन परिस्थितिबाट गुज्रिरहेको छ, त्यसबाट निकास दिने उपाय निर्वाचन नै हो। निर्वाचनबाहेकको सहज विकल्प अरु छैन।”
पूर्वप्रधानमन्त्री दाहालले सबै राजनीतिक दल र आम जनतालाई निर्वाचनको मानसिकतामा अघि बढ्नुपर्नेमा जोड दिए। उनले शान्ति, स्थायित्व र समृद्धिका विषयमा धेरै भाषण भए पनि निजी क्षेत्रसँग सहकार्य गरेर त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने पनि बताए। उनले भने, “विगतमा धेरै खालका कमिटमेन्टहरू गरिसकेका छौं। तर, निजी क्षेत्रलाई प्रोत्साहित नगरी, लगानीमैत्री वातावरण नबनाइए विकास र समृद्धि कुरा मात्रमा सीमित रहन्छ।”





