धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार, संस्थाले २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने संस्थाले १ करोड २४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
खुद ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि भएपछि संस्था घाटाबाट नाफातर्फ उक्लन सफल भएको हो। पहिलो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ७८.२० प्रतिशतले बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यो रकम १ करोड ९४ लाख रुपैयाँ थियो।
संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि १ करोड ९८ लाख रुपैयाँबाट बढेर ३ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने खुद सञ्चालन आम्दानी ३ करोड ३३ लाख रुपैयाँ रहेको छ।
संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ८६ लाख ३५ हजार रुपैयाँ छुट्याएको छ। खराब कर्जा अनुपात भने अघिल्लो वर्ष ८.१० प्रतिशत रहेकोमा अहिले बढेर ९.७७ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा धौलागिरी लघुवित्तले १ अर्ब २२ करोड रुपैयाँ सापटी, ८६ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
संस्थाको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा १० लाख ७० हजार रुपैयाँ, रिटेन्ड अर्निङ १० लाख ७० हजार रुपैयाँ छ र जगेडा कोषमा ९ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ।
समीक्षा अवधिसम्म धौलागिरी लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्षको ३७.४७ रुपैयाँ ऋणात्मक बाट सुधार भएर ७.८० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७१.७५ रुपैयाँ रहेको छ।


प्रतिकृया