घाटा करोडौँको भएपनि विन नेपाल लघुवित्तको सेयरमूल्य बढ्दै, मूल्य उकालो लाग्नुको कारण के?
विन नेपाल लघुवित्त वित्तीय संस्था चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड २४ लाख घाटामा रहेपनि सेयर मूल्यमा मंगलबारसम्म लगातार तेस्रो दिन पनि पोजेटिभ सर्किट लागेको थियो। वित्तीय अवस्था कमजोर देखिए पनि नेप्सेमा कम्पनीको सेयरमा उच्च माग देखिएको छ। कम सेयर संख्या र एफपीओ निष्काशनको स्वीकृति जस्ता कारणहरूले कम्पनीको सेयर मूल्य उचालिएको देखिन्छ।
कम्पनीको कुल ७ लाख ९२ हजार ११३ कित्ता सेयरमध्ये २लाख ३७ हजार ६३३ कित्ता मात्र सर्वसाधारणको स्वामित्वमा छ, जसका कारण बजारमा खरीद दबाब बढेको हो। हालै कम्पनीले ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गर्न सेबोनबाट स्वीकृति पाएको छ, जसले गर्दा सेयरमा लगानीकर्ताको आकर्षण झन् बढेको देखिन्छ। तर, कम्पनीको वित्तीय विवरण हेर्दा कम्पनीको खराब कर्जा ६.२३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको २.६१ प्रतिशत भन्दा निकै उच्च हो।
कम्पनी घाटामा रहे पनि खुद ब्याज आम्दानी भने गत वर्षको ४३ लाख ९८ हजार बाट बढेर चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड पुगेको छ। तर, प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ ९१.२३ मात्र छ।
विन नेपाल लघुवित्तले हालसम्म ८ जिल्लाका २१ शाखा कार्यालय मार्फत १२हजार २१० ग्राहकलाई सेवा दिँदै आएको छ। घाटामा भए पनि लगातार पोजेटिभ सर्किट लागेपछि कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखिएको छ।