आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूको अन्तिम नामावली टुंगो लगाएको छ। सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलहरूबीच लामो समयदेखि चलेको रस्साकस्सीपछि नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेलमा सहमति जुटेपछि कांग्रेसले आफ्नो भागमा परेका उम्मेदवार चयन गरेको हो।
तीन दलबीच भएको नयाँ सहमतिअनुसार रिक्त रहेका सिटहरूमा भागबन्डा मिलाइएको छ। सहमतिअनुसार नेपाली कांग्रेसले ९ सिट, नेकपा एमालेले ८ सिट र जसपा नेपालले १ सिट पाउने गरी तालमेल तय भएको छ।
तालमेलमा सहभागी नेकपा एमालेले मधेश प्रदेशबाहेक अन्य प्रदेशका उम्मेदवारहरूको नाम यसअघि नै करिब टुंग्याइसकेको बुझिएको छ। यस्तै, एक सिट पाएको जनता समाजवादी पार्टी नेपालले वरिष्ठ नेता महन्थ ठाकुरलाई राष्ट्रिय सभामा पठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ।


प्रतिकृया