विकास हाइड्रोपावर लिमिटेडले भोलि जेठ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको छ।
कम्पनीले प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई प्रतिसेयर १०० रुपैयाँ दरमा ९ लाख ९ हजार १०१ कित्ता सेयर निष्काशन गर्नेछ। जसमध्ये ३ लाख ६३ हजार ६४० कित्ता सेयर गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ का अति प्रभावित बासिन्दालाई र बाँकी ५ लाख ४५ हजार ४६१ कित्ता धार्चे गाउँपालिकाका अन्य वडाका बासिन्दालाई बाँडफाँट गरिनेछ। आवेदन म्याद छिटोमा जेठ २० र ढिलोमा असार ४ गतेसम्म हुनेछ।
स्थानीय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल, कमलादी, हिमालयन बैंकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमा गई पनि आवेदन दिन सक्नेछन् ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रतिसेयर १०० रुपैयाँ दरमा ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्काशन हुनेछ, जसको अन्तिम आवेदन म्याद जेठ २० गतेसम्म हो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निस्काशनको लागि इक्रा नेपालले कम्पनीलाई त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।



















प्रतिकृया