गत वर्षको जेन-जी आन्दोलनका नेता सरिफ उस्मान हादीको हत्यापछि बंगलादेशमा निकै जटिल परिस्थितीको सिर्जना भएको छ। डिसेम्बर १२ मा राजधानी ढाकाको एक मस्जिद बाहिर नकावधारी समूहले हादीमाथि गोली प्रहार गरेको थियो। उपचारका क्रममा डिसेम्बर १८ मा उनको निधन भयो। हादी सन् २०२४ मा शेख हसिनालाई सत्ताबाट हटाउन भएको ‘जुलाई विद्रोह’ का एक प्रमूख व्यक्ति थिए।
हादीको मृत्युपछि ढाका, चटगाउँ र अन्य सहरहरुमा हजारौं मानिसहरु सडकमा उत्रिएका छन्। आन्दोलनकारीहरुले अघिल्लो सरकारको समर्थक भएको आरोप लगाउँदै द डेली स्टार जस्ता ठूला मिडिया हाउसहरुमा आगजनी गरेका छन्। मारिएका नेता हादी प्रखर भारत विरोधी थिए। मृत्युदण्ड सुनाईएकी पूर्व प्रधानमन्त्री हसिनालाई संरक्षण दिएको भन्दै बंगलादेशमा भारत विरोधी भावना तिव्र बन्दै गएको छ। यहि बीचमा आन्दोलनकारीको समूहले हिन्दू युवकलाई कुटपिट गरी जिउँदै जलाएको घटनाले हिन्दु समूदाय आतंकित बनेको छ।
बंगलादेशले फेब्रुअरी १२,२०२६ मा आम निर्वाचन गर्ने तयारी गरिरहेको छ। नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले शेख हसिनाको पार्टी अवामी लिगलाई चुनाव लड्न प्रतिवन्ध लगाएको छ।
अहिले देशमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ। आन्दोलनकारीहरु हादीको हत्यारालाई कारवाही गर्न माग गर्दै सडकमा उत्रिएका छन्।
यस्तो जटिल अवस्थामा पनि बंगलादेशको सेयर बजार भने बढिरहेको छ। यो समाचार तयार पार्दासम्म ढाका स्टक एक्सचेन्जमा ४६ अंकको बढोत्तरी देखिएको छ। अहिले इन्डेक्स ४८७२ अंकमा छ। हादीमाथि गोली प्रहार हुनुअघि इन्डेक्स ४९७० को आसपासमा थियो। त्यसपछि खसेर ४८०० को आसपासमा झर्यो। अहिले बढ्दो क्रममा देखिएको छ। नोभेम्बर १६ मा इन्डेक्स ४६२१ सम्म झरेको थियो।


प्रतिकृया