प्रधानमन्त्री ओलीलाई वामदेवको चुनौती: मेरो बदनाम गर्ने तुच्छ कोसिस गरियो, अब भ्वाइस रेकर्ड सार्वजनिक गरियोस्

प्रधानमन्त्री ओलीलाई वामदेवको चुनौती: मेरो बदनाम गर्ने तुच्छ कोसिस गरियो, अब भ्वाइस रेकर्ड सार्वजनिक गरियोस्

राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूलाई बदनाम गर्न खोजेको आरोप लगाउँदै फोन संवादको अडियो सार्वजनिक गर्न चुनौती दिएका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै गौतमले प्रधानमन्त्री ओलीले आफूविरुद्ध गलत प्रचार गरेको दाबी गरेका छन्। उनले भनेका छन्, “यदि मैले कुनै अनावश्यक कुरा बोलेको प्रमाणित हुन्छ भने म त्यसको जिम्मेवारी लिन तयार छु। प्रधानमन्त्रीज्यू, तपाईंको हैसियतले यो रेकर्ड सार्वजनिक गर्न सक्नुहुन्छ।”

केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वामदेव गौतमले आफूलाई स्वकीय सचिव राजेश बज्राचार्य भनी सोचेर फोन गरेको र मदन भण्डारीको हत्या कांग्रेसले गरेको भनी फेक अडियोको आधारमा राजीनामा मागेको आरोप लगाएका थिए। ओलीले भनेका थिए, “फोन मैले उठाएको थिएँ, तर उहाँ (गौतम) राजेश भन्ठानेर मसित बम्किनुभयो।”

यता गौतमले भने ओलीको दाबीलाई अस्वीकार गर्दै आफ्नो स्पष्टीकरण दिएका छन्। उनका अनुसार आफूले मदन भण्डारी हत्यासम्बन्धी एउटा भिडियो लिंक पाएपछि ओलीलाई त्यसबारे जानकारी दिन खोजेका थिए। “प्रधानमन्त्रीलाई फोन गर्दा सम्पर्क नभएपछि मैले राजेश बज्राचार्यलाई लिंक पठाएँ र यो गम्भीर विषय भएको बताएँ,” गौतमले भने।

गौतमले उक्त विषयलाई अनावश्यक प्रचारको विषय बनाएको भन्दै प्रधानमन्त्रीको व्यवहारलाई “अशोभनीय” भनेका छन्। उनले ओलीलाई फोन संवादको अडियो सार्वजनिक गरी सत्य बाहिर ल्याउन आग्रह गरेका छन्। “मदन भण्डारी हत्या सम्बन्धी एउटा लिंक हेरेर म स्तब्ध भएँ। मैले यो विषयमा प्रधानमन्त्रीलाई नै जानकारी दिन खोजेँ, तर अहिले यो विषयलाई बङ्ग्याएर मलाई बदनाम गरिनु दु:खद छ,” विज्ञप्तिमा उल्लेख छ।

गौतमको वक्तव्य:

प्रिय क. केपी ओली !

अभिवादन !!

तपाईँको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो ।

त्यसपछि मैले वहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाईँलाई पठाइदिएको छु । तु वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ ।

योभन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नम्बर राजेश कै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन ।

क. केपी, म तपाइलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।

वामदेव गौतम

१ पुस २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स