आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्भावित उम्मेदवारका रूपमा सुरेन्द्र बजगाईंको नाम अगाडि आएको छ। महाङ्काल गाउँपालिका–४, कालेश्वरका स्थायी बासिन्दा बजगाईं हाल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’का सल्लाहकार हुन्।
बजगाईं काठमाडौं महानगरपालिकाको सहरी योजना आयोग अन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा काम गरिरहेका छन्। रास्वपा स्रोतका अनुसार उनको नाम सुरुमा समानुपातिक सूचीका लागि प्रस्ताव गरिएको थियो। ललितपुर १ मा प्रत्यक्ष उम्मेदवारको खोजी हुँदा बालेन निकट सुरेन्द्र नै उपयुक्त व्यक्ति रहेको चर्चापछि उनको नाम समानुपातिक सूचीबाट फिर्ता गरिएको रास्वपाका एक नेताले बताए ।
ललितपुर–१ मा लामो समयदेखि बाहिरी उम्मेदवारहरूको वर्चस्व रहँदै आएको छ। राष्ट्रिय स्तरका नेताहरू यहाँबाट निर्वाचित भए पनि स्थानीय समस्या र आवश्यकताले प्राथमिकता नपाएको गुनासो स्थानीयवासीको छ। चुनाव जितेपछि जनप्रतिनिधि जनताबाट टाढा हुने प्रवृत्तिले लोकतन्त्रप्रतिको भरोसा कमजोर हुँदै गएको उनीहरूको भनाइ छ।
यही पृष्ठभूमिमा यसपटक स्थानीय मतदाताले स्थानीय युवालाई अवसर दिनुपर्ने आवाज उठ्न थालेको छ। काठमाडौं महानगरका मेयर बालेनका प्रेस सल्लाहकार रहेर बटुलेको अनुभव, युवामैत्री सोच, सञ्चारमा दक्षता र स्थानीयदेखि राष्ट्रिय तहसम्मको अनुभवका कारण सुरेन्द्र बजगाईंलाई ललितपुर–१ मा वैकल्पिक राजनीतिक शक्तिको सम्भावित प्रतिनिधिका रूपमा हेरिएको छ।
बजगाईं यसअघि विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा पत्रकारका रूपमा सक्रिय थिए। नेपाल लाइभ, नेपालवाच, उकेरा, रुटिन अफ नेपाल बन्द, बाह्रखरी र इकागजजस्ता माध्यममा काम गर्दै उनले सुशासन, सार्वजनिक नीति र सामाजिक मुद्दामा कलम चलाएका छन्। पत्रकारितामार्फत उनले राजनीति र राज्य संयन्त्रलाई नजिकबाट बुझ्ने अवसर पाएका छन्।
शैक्षिक रूपमा ग्रामीण विकासमा स्नातक गरेका बजगाईं हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन्। सामाजिक न्याय, पारदर्शी शासन, जवाफदेही राजनीति र नागरिक सहभागिता उनका प्रमुख चासोका क्षेत्र हुन्।
बजगाईं सञ्चार तथा सार्वजनिक नीतिको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनी उज्ज्वल थापाले स्थापना गरेको विवेकशील नेपाली दलमा आबद्ध थिए।सामाजिक अभियानमा पनि सक्रिय बजगाईं २०७२ सालको नाकाबन्दीका बेला काठमाडौं–वीरगञ्ज–जनकपुर पैदल यात्रा र टिकापुर घटनापछि काठमाडौं–लुम्बिनी–टिकापुर साइकल यात्रा गरेका थिए। ती यात्रामार्फत उनले स्थानीय नागरिकका आवाज राष्ट्रिय बहसमा ल्याउने प्रयास गरेका थिए।
यसका साथै उनले राहत वितरण, खानेपानी समस्या समाधान, प्राविधिक शिक्षा प्रवर्द्धन तथा डिजिटल साक्षरताजस्ता कार्यक्रममार्फत समुदाय स्तरमा सक्रिय भूमिका खेल्दै आएका छन्। सञ्चार, नीति र समुदायको अनुभवलाई जोड्दै सुरेन्द्र बजगाईं ललितपुर–१ मा नयाँ राजनीतिक संस्कृतिको प्रतिनिधि बन्न सक्ने सम्भावना देखिएको छ।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया