काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुनेमा भएको प्रदर्शनमा क्षति पुर्याएको भन्दै कुल ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ।
महानगरले शुक्रबारको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा छुट्टाछुट्टै पत्र पठाई जरिवाना निर्धारण गरेको हो।
प्रदर्शनका क्रममा तीनकुनेसहित कोटेश्वर, महादेवस्थान, जडीबुटी, बालकुमारी र सिनामंगल क्षेत्रका सडक तथा सडकपेटीमा जथाभावी फोहोर फालिएको, रुख, बिरुवा, रेलिङ, आइल्याण्ड तोडफोड गरिएको र महानगरको दमकलसमेत क्षतिग्रस्त बनाइएको महानगरको आरोप छ।
सोही आधारमा महानगरले कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी, बालकुमारी र सिनामंगल क्षेत्रमा फोहोर गरेको आरोपमा जनही १–१ लाख, दमकल फुटाएकोमा १ लाख ३० हजार, रुख, बिरुवा र रेलिङ तोडफोड गरेकोमा ४० हजार र तीनकुनेको आइल्याण्डमा तोडफोड गरेकोमा २३ हजार रुपैयाँ गरी कुल ७ लाख ९३ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको हो।
शुक्रबारको उक्त आन्दोलन हिंसात्मक बनेपछि महानगरका संरचनामा क्षति पुगेको मात्र नभई दुई जनाको ज्यान गएको र दर्जनौं घाइते समेत भएका थिए। राजावादी प्रदर्शनकारी उग्र बनेपछि तीनकुने क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो।




















प्रतिकृया