कोरोना जस्तै अर्को भाइरसको संक्रमण बढ्दै: जान्नुहोस लक्षण र रोकथामका उपायहरू
चिन र भारतमा देखिएको कोरोना जस्तै अर्को भाइरसको नाम एचएमपीभी भाइरस हो। सोमबार भारतमा दुई जनामा मेटापन्युमोभाइरस (एचएमपीभी) भाइरस का पुष्टि भएको छ। यस अघि चीनले ह्युमन मेटाप्निमोभाइरस (एचएमपीभी) को प्रकोप सामना गरिरहेको समाचार सार्वजनिक भएसँगै भारतमा पनि यसको संक्रमण पुष्टि भएको हो ।
एचएमपीभी के हो?
मानव मेटापन्युमोभाइरस (एचएमपीभी) एक प्रकारको श्वासप्रश्वाससम्बन्धी भाइरस हो, जसले विशेष गरी साना बालबालिका, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई प्रभावित गर्न सक्छ। यो भाइरसले प्रायः रुघाखोकी जस्तै लक्षण देखाउने गर्छ र कहिलेकाँही गम्भीर श्वासप्रश्वास संक्रमणको कारण पनि बन्न सक्छ।
एचएमपीभीका लक्षण र जोखिम
एचएमपीभीका लक्षणमा खोकी, ज्वरो, नाक बन्द हुने, घाँटी दुख्ने, र स्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षणहरू समावेश छन्। यो भाइरस प्रायः संक्रमित व्यक्तिको खोकाइ, हाछ्युँ, वा सम्पर्कबाट फैलिन्छ।
विशेष गरी साना बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूमा एचएमपीभीले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ, जसमा ब्रोंकियोलाइटिस, ब्रोंकाइटिस, निमोनिया, दम, र कानको संक्रमणसमेत हुन सक्छ।
रोकथामका उपायहरू
एचएमपीभी र अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरूको जोखिम कम गर्न निम्न उपाय अपनाउन सुझाव दिइएको छः
– साबुन र पानीले हात राम्ररी धुनु।
– खोक्दा वा हाछ्युँ गर्दा मुख र नाक छोप्नु।
– बिरामी व्यक्तिसँग नजिकको सम्पर्कबाट बच्नु।
– मास्कको प्रयोग गर्नु।
– नधोएका हातले आँखा, नाक र मुख छुनुबाट बच्नु।
– बिरामी हुँदा आफैलाई अलग्गै राख्ने।
विशेषज्ञको सल्लाह
स्वास्थ्य विशेषज्ञहरूले एचएमपीभी सम्बन्धी थप निगरानी र जनचेतना आवश्यक रहेको बताएका छन्। संक्रमणको समयमा सुरक्षाका उपायहरू अपनाउनु र कुनै पनि श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या भएमा तुरुन्त चिकित्सकीय सल्लाह लिन सुझाव दिइएको छ।