नेपालमा आर्टिफिसिएल इन्टेलिजेन्स प्रवर्द्धन गर्न एआई एसोसिएसन नेपालको गठन, एआई नीतिमा सरोकारवालासँग छलफल

नेपालमा आर्टिफिसिएल इन्टेलिजेन्स प्रवर्द्धन गर्न एआई एसोसिएसन नेपालको गठन, एआई नीतिमा सरोकारवालासँग छलफल

नेपालमा समावेशी, पारदर्शी र जिम्मेवार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रवर्द्धन गर्न ‘एआई एसोसिएसन नेपाल’ गठन गरिएको छ।

एआई विज्ञ, उद्यमी तथा अनुसन्धानकर्ताहरूको संयुक्त पहलमा स्थापना भएको संघको संस्थापक अध्यक्षमा ‘मेरो जब’का संस्थापक शैलेन्द्र राज गिरि, त्यस्तै उपाध्यक्षमा सबिना पोखरेल र डा. सुरेश पोखरेल, महासचिवमा सन्तोष सिग्देल, कोषाध्यक्षमा सुजन थापा तथा कार्यकारी सदस्यमा किरण भट्ट, जयराज मिश्र, राम शर्मा भट्टराई, प्रतीक पांगेनी, दर्शन पराजुली र मानवी चन्द चयन भएका छन्।

संघले नेपालका विविध चुनौतीहरूको समाधान गर्न एआई अनुसन्धान, नवप्रवर्तन, र सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि, र सार्वजनिक सेवाजस्ता क्षेत्रमा एआईको प्रभावकारी प्रयोगमार्फत नवीन समाधानहरू खोज्ने एसोसिएसनको उद्देश्य रहेको छ।

नेपाल सरकारले हालै जारी गरेको एआई नीतिका सन्दर्भमा सरोकारवालाहरूसँग परामर्श गर्न काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष गिरिले एआई एसोसिएसन नेपालको लक्ष्य र योजनाबारे जानकारी दिए। उनले एआई शिक्षा र उद्योगसँग सम्बन्धित परियोजनाहरूलाई सहयोग पुर्‍याउने, अनुसन्धान तथा विकासलाई प्रवर्द्धन गर्ने, साथै प्रशिक्षण, कार्यशाला, र सीप विकास कार्यक्रमहरू सञ्चालन गर्ने योजना संघले अघि सारेको बताए।

त्यसैगरी, संघका कार्यकारी सदस्य अधिवक्ता सन्तोष सिग्देलले नेपाल सरकारद्वारा प्रस्तुत गरिएको एआई नीतिको मस्यौदाको विश्लेषण गर्दै, प्रस्तावित नीति नैतिक र समावेशी एआई अभ्यासलाई आधार मान्नुपर्नेमा जोड दिए। उनले नीति समग्र समाजलाई लाभ पुर्‍याउने गरी तयार गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा एआई एसोसिएसन नेपालले आगामी दिनहरूमा एआई सम्बन्धी नीतिगत बहसहरू, अनुसन्धान अनुदान कार्यक्रम, र ओपन-सोर्स एआई स्रोत केन्द्र स्थापना गर्ने योजनाबारे जानकारी गराउँदै, अनुसन्धानकर्ता, उद्यमी, तथा सरोकारवालाहरूलाई नेपालमा समावेशी, पारदर्शी, र जिम्मेवार एआई प्रविधि प्रवर्द्धनका लागि सहकार्य गर्न आह्वान गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स