नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा एक व्यक्तिले चमत्कार गर्नसक्ने कुरामा आफू विश्वास नगर्ने बताएका छन्। सर्लाही ४ का मतदातासँगको छलफलमा उनले अहिलेको निर्वाचन प्रधानमन्त्री को हुने भन्ने प्रश्नमा केन्द्रित भएको बताए र चुनावी एजेन्डा विषयवस्तुबाट पछाडि परेको टिप्पणी गरे।
उनी भन्छन्, “म सहमतिको राजनीतिमा विश्वास गर्छु। त्यसैले म एक जनाले चमत्कार गर्न सक्छ भन्ने कुरा मान्दिनँ। दुर्भाग्यवश, यसपालिको चुनाव विषयवस्तुमा छलफल नभई को प्रधानमन्त्री बन्ने, को कस्तो देखिने, कसले कस्तो लाउने, कसले कस्तो हिँड्ने जस्ता कुरामा केन्द्रित भएको छ। यसले हाम्रो मुद्दा र वास्तविक छलफलहरू गौण बनाएको छ।”
उनले आगामी पाँच वर्षलाई नेपालको लागि गुमाउने समय बन्न नदिनुपर्ने जोड दिए। “यो पाँच वर्ष खेर फालियो भने त्यसपछि समय पर्याप्त हुने छैन। संविधानलाई लागू गर्दै आवश्यक सुधार र मिलाउने काम थुप्रै गर्नुपर्नेछ। त्यसैले, पाँच वर्षको प्रतिनिधि कार्यकालमा म यहाँ रहँदा एमाले, नेकपा, रास्वपा सबैलाई मिलाएर, संविधानमा समझदारी कायम गर्दै, बाँकी रहेका विषयमा सहमति बनाउने मेरो प्रयास रहनेछ।”















प्रतिकृया