राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली

राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताएका छन्।

नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताए।

‘हामीलाई चाहिएको मानव जातिको सुख हो। हाम्रा मेहनतको ध्येय सुख पाउनु हो। ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ। ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन। मानिसमा शालिनता र विनम्रता चाहिन्छ। आफूभित्र घमण्ड हुनु हुँदैन। मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठिक मतिले प्रयोग गर्न सकेमा मानवीय सुख प्राप्त गर्न सकिन्छ,’ उनले भने।

जेसिजले अनुशासन सिकाउने र अरुलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्ने उनको भनाइ छ। ‘यसले मुख छाड्न र गाली गर्न सिकाउँदैन। वातावरण जोगाउँन सिकाउँछ। यी प्रेरणाहरु मानव जातिका लागि आवश्यक छन्। समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य पनि यही हो हामी नेपाली एकताबद्द भएर यो लक्ष्य प्राप्तिमा लाग्नुपर्छ,’ उनले भने।

विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उनले यस दिवसलाई सधैँ अपनाउन र मानवोचित हितलाई केन्द्रमा राखेर जनता र पृथ्वीलाई जोगाउन जिम्मेवार हुन आग्रह गरे।

जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले नेपालमा जेसिजको लगातार विस्तार र प्रकाशको ज्योति छर्ने काम भएकामा प्रशंसा व्यक्त गरे।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाशाली युवालाई सम्मानित गरिएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स