बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेतसहितको टिमले दर्ता गर्यो नयाँ राजनीतिक दल

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ३० गते
बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेतसहितको टिमले दर्ता गर्यो नयाँ राजनीतिक दल

नेपालको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर का मालिक वीरेन्द्रबहादुर बस्नेत अब सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। बस्नेतसहितको टोलीले ‘गतिशील लोकतान्त्रिक पार्टी’ नामक नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गराएको छ।

निर्वाचन आयोगका अनुसार सो पार्टी ५१७ नम्बरमा दर्ता भएको छ। बिहीबार दर्ता गरिएको दलमा समाजशास्त्री दिनेश प्रसाईं अध्यक्ष, पियुषप्रसाद कायस्थ महासचिव र वीरेन्द्र बस्नेत सदस्य रहेका छन्।

दलको संरचना र नीतिगत व्यवस्था

गतिशील लोकतान्त्रिक पार्टीको विधानअनुसार पार्टीका पदाधिकारीहरू चुनावमा उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ। तर पदाधिकारी बाहेकका सदस्यहरूले चुनाव लड्न सक्ने छन्।

दस्तावेजमा के छ?

पार्टीले जारी गरेको ‘हामी किन र हाम्रो प्रतिबद्धता’ शीर्षकको दस्तावेजमा गतिशील लोकतान्त्रिक पार्टीलाई सुधार, सुशासन र आर्थिक उत्थानमा केन्द्रित नयाँ राजनीतिक विकल्पका रूपमा परिभाषित गरिएको छ।

दस्तावेजमा भनिएको छ, “राजनीति सेवा हो, सत्ताको माध्यम होइन।” पार्टीले आफूलाई लोकतान्त्रिक मूल्यमा आधारित, परिणाममुखी र सुशासनमुखी शक्तिका रूपमा अघि बढाउने बताएको छ।

मुख्य नीति र सिद्धान्त

गतिशील लोकतान्त्रिक पार्टीले पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वलाई आफ्नो मूल नीति मानेको छ। पार्टीले स्थानीय तहदेखि संघीय तहसम्म योग्यता, इमानदारी र कार्यक्षमताका आधारमा नेतृत्व चयन गर्ने प्रावधान राखेको छ।

संगठनभित्र एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था गरिएको छ।

गतिशील लोकतान्त्रिक पार्टीले आफ्नो आर्थिक नीति ‘उत्पादन, पारदर्शिता र स्वावलम्बन’का तीन स्तम्भमा आधारित गरेको छ।

दस्तावेजअनुसार:

  • कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका मुख्य आधार बनाइनेछ। 
  • युवा उद्यमशीलता प्रोत्साहनका लागि रोजगारीमुखी कार्यक्रम सञ्चालन गरिनेछ। 
  • स्थानीय उत्पादन र उद्योगलाई कर–राहत र लगानी–सुरक्षाका नीतिगत व्यवस्था गरिनेछ। 
  • शिक्षा, स्वास्थ्य, यातायात र सिँचाइमा निजी–साझेदारी मोडललाई प्राथमिकता दिइनेछ। 
  • भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता नीति लागू गरिनेछ र सरकारी खर्चमा मितव्ययिता कायम गरिनेछ। 

दीर्घकालीन दृष्टि

गतिशील लोकतान्त्रिक पार्टीले आफूलाई “लोकतान्त्रिक, समावेशी र परिणाममुखी सुधारवादी शक्ति”का रूपमा परिभाषित गरेको छ।।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स