सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानले ध्वनि प्रदूषण र वन्यजन्तुको जीवनशैलीमा नकारात्मक प्रभाव परेको भन्दै, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको भगवती प्रसाद गुल्म र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर यस्तो उडान रोक्न आग्रह गरेका छन्।
दिनहुँ ५० भन्दा बढी व्यावसायिक हेलिकप्टर उडानका कारण वातावरणमा नकारात्मक असर परिरहेको उनीहरूको भनाइ छ। यस क्षेत्रमा हेलिकप्टरको उडानलाई स्याङबोचेभन्दा माथि निषेध गर्न आग्रह गरिएको छ।
तर, पर्यटन व्यवसायीहरू यस निर्णयलाई अस्वीकार गर्दै यसले नेपालको पर्यटन उद्योगलाई ठूलो नोक्सान पुर्याउने दाबी गरेका छन्। उनीहरूका अनुसार यस्तो प्रतिबन्धले नेपालको अर्थतन्त्रमा समेत गम्भीर असर पार्न सक्छ। एक्सपेडिसन अपरेटर एशोसियनका महासचिव ऋषि भण्डारीले सामाजिक सञ्जालमार्फत यो निर्णयले नेपालको समृद्धिमा बाधा पुर्याउने दाबी गर्दै पुनर्विचार गर्न आह्वान गरेका छन्।
उनका अनुसार, नेपालको समृद्धि मुख्यत: पर्यटनमा निर्भर छ, र यदि पर्यटनमा व्यवधान आएमा यसले देशको आर्थिक स्थायित्वमा ठूलो क्षति पुर्याउनेछ। उनले सन्दर्भमा वन र वातावरण मन्त्रालय लगायतका निकायहरूको भूमिकालाई पनि आलोचना गरेका छन्, जसले प्राकृतिक स्रोतहरूको सदुपयोगमा अवरोध खडा गरेको भन्दै पुनर्विचारको आवश्यकता औंल्याएका छन्।




















प्रतिकृया