वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो, युएईमा सबैभन्दा धेरै नेपाली

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ८ गते
वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो, युएईमा सबैभन्दा धेरै नेपाली

चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा ५७,४९३ जना नेपाली वैदेशिक रोजगारका लागि गएका छन्, जुन संख्या गत आवको सोही महिनामा ५०,८८४ थियो।

श्रम स्वीकृति सम्बन्धी तथ्यांक अनुसार भदौ महिनामा वैदेशिक रोजगारमा जाने ५७,४९३ मध्ये ३९,५५७ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकी १७,९३७ जनाले श्रम स्वीकृति नवीकरण गराएका थिए।

गत आवको तुलनामा यस आवको भदौ महिनामा वैदेशिक रोजगारीमा जाने संख्या बढेको देखिन्छ। चालु आवको भदौ महिनामा ९५ मुलुकमा नेपालीहरु रोजगारीका लागि गएका छन्, जसमा सबैभन्दा बढी १८,६०५ जना युएईमा गएका छन्। युएई जानेमध्ये १४,४२४ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्।

दोस्रो स्थानमा कतार छ, जहाँ ११,२९१ जना नेपाली गएका छन्, जसमा ४,८४४ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्। तेस्रो स्थानमा रहेको साउदी अरबमा १०,८३५ जना गएका छन्, जसमा ७,२४६ जना नयाँ श्रम स्वीकृति लिएका छन्।

अन्य मुलुकहरूमा कुवेतमा ४,२१५, रोमानियामा १,८८८, जापानमा १,४५६, मलेसियामा १,१९३ र कोरियामा १,१०६ जना नेपाली रोजगारीमा गएका छन्।

चालु आवको साउन महिनामा ५९,५७५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए, जसमा ३६,९२८ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए। गत आवको साउनमा भने ५५,५७५ जना गएका थिए, जसमा ३९,१५२ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए।

साउन र भदौ गरी चालु आवमा १,१७,०६८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जसमा ७६,४८५ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन्। यो संख्या गत आवको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा १,०६,४५९ जना गएका थिए, जसमा ७४,४५५ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका थिए।

गत आवभर नेपालबाट ७,४१,२९७ जना कामदार वैदेशिक रोजगारीमा गएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स