त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानवतस्करीको आशंकामा २२ जना युवतीहरु फिर्ता गरिएका छन्। उनीहरु भिजिट भिसामा कुवेत जान लागेका थिए तर विमानस्थल अध्यागमनले थप अनुसन्धानपछि फिर्ता गर्ने निर्णय गरेको हो।
उनीहरु बिहीबार राति ९:४५ को हिमालयन एयरलाइन्सको उडानमार्फत् कुवेत जाने तयारीमा थिए। दुबई हुँदै कुवेत पुग्ने योजनासहित उनीहरूसँग एकतर्फी टिकट, दुबईको भिसा र कुवेतको बोर्डिङ पास फेला परेपछि अध्यागमनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै फिर्ता पठाएको बताइएको छ।
यो घटनामा कसैलाई पक्राउ गरिएको छैन, यद्यपि एकजनालाई संक्षिप्त सोधपुछ गरिएको थियो।
पछिल्ला वर्षहरुमा नेपाली नागरिकलाई भिजिट भिसामा विदेश जाने र अवैध श्रम कार्यमा संलग्न हुने घटनामा वृद्धि देखिएपछि सरकारले यसलाई नियमन गर्ने कार्य अघि बढाएको छ। यसअघि पनि भिजिट भिसाको नियमन र व्यवस्थापनका लागि विशेष कार्यदल बनाइएको थियो। वर्तमानमा, भिजिट भिसा व्यवस्थापनको अध्ययन र छलफल जारी राख्दै, यसमा आवश्यक सुधार ल्याउने प्रयास भइरहेको बताइएको छ।
















प्रतिकृया