नाडा अटो सो भदौ ९ गते देखि सुरु हुँदै

नाडा अटो सो भदौ ९ गते देखि सुरु हुँदै
Advertisement Ads

नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी नाडा अटो सोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने ६ दिने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टलमार्फत सवारीसाधन, प्रविधि, पार्टपुर्जा तथा अटोमोबाइलसम्बन्धी विभिन्न उत्पादन र सेवा प्रदर्शन गरिनेछ।

नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो सोलाई स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना गर्न लागिएको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष सुरेश उप्रेतीले नवीन प्रविधिको प्रयोग गर्दै विगतभन्दा भव्य रूपमा प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको बताए।

‘आजको नवीन प्रविधिलाई प्रयोग गरेर अटो सोलाई विगतभन्दा भव्य बनाउने प्रयत्न गरेका छौँ। आयातित र स्वदेशी उत्पादन एकै थलोमा प्रदर्शनी हुनेछन्,’ उनले भने।

प्रदर्शनीमा २३ वटा ब्रान्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल र १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन रहनेछन्। त्यस्तै, १० वटा वित्तीय तथा बिमा सेवाप्रदायक र ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका उत्पादन तथा सेवाका स्टल रहनेछन्।

नेपालमा एसेम्बल हुने सवारीसाधनसँगै ल्युब, ब्याट्री, हेलमेट तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित अन्य सामग्री पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। नाडा अटो सो २०२६ को शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ।

अटो सोको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउनु रहेको नाडाले जनाएको छ। प्रदर्शनीमार्फत उपभोक्ताले बजारमा उपलब्ध नयाँ सवारीसाधन, प्रविधि र नवप्रवर्तनलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न पाउनेछन्।

साथै, प्रदर्शनीले अटोमोबाइल कम्पनीलाई आफ्ना नयाँ उत्पादन तथा सेवा सार्वजनिक गर्ने, ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउने र व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

छ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुकले अवलोकन गर्ने नाडाको अपेक्षा छ। प्रदर्शनी अवधिमा स्वर्ण उत्सव संस्करणका कार्यक्रम, नयाँ उत्पादनको लन्च तथा गोष्ठीसमेत आयोजना हुनेछन्।

नाडाका अनुसार खल्ती एपमार्फत टिकट अग्रिम खरिद गर्दा ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स