बजेट प्रस्तुत गर्नै पो नपाईने हो कि भन्ने मनस्थितिमा थिए अर्थमन्त्री; अब ‘फटाफट’ काम गर्ने
वर्तमान सत्ता गठबन्धन बनेको छोटो समयमै गठबन्धनमा सहभागी दलहरुले असन्तुष्टि जनाईरहेका थिए। नेकपा समाजवादीले त सार्वजनिक रुपमै चरम असन्तुष्टि प्रकट गर्दै आएको थियो। अध्यक्ष माधव कुमार नेपालले विभिन्न सार्वजनिक कार्यक्रमहरुमै आफूहरुलाई कमजोर नसम्झन चेतावनी दिँदै आएका थिए। नेकपा एस आफ्नो हैसियतभन्दा बढी नै ‘डिमाण्डिङ्ग’ भईरहेको बुझाई प्रधानमन्त्री र एमाले अध्यक्ष ओली दुबैको थियो तर संसदको अंकगणितका कारण माधव नेपालको ‘नखरा’ सहनै पर्ने वाध्यता पनि थियो। उता जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव समेत माधव नेपालसंग मिलेपछि चुनौती झनै थपिएको थियो। यादव अमेरिका उड्नुअघि दुई दल एकै ठाउँमा उभिँदा ‘बार्गेनिङ्ग पावर’ बढ्ने भएकाले संगसंगै मिलेर अघि बढ्ने अनौपचारिक सहमति समेत भएको थियो।
यी सबै परिदृश्यहरुलाई नजिकबाट नियालीरहेका प्रधानमन्त्री बेचैन देखिन्थे। कांग्रेससंगको गठबन्धन तोडेर ठूलै जोखिम मोलेका प्रचण्ड एमालेसंग गठबन्धन निरन्तरताको सुनिश्चतता चाहन्थे। नेपाली कांग्रेसका नेताहरु र एमाले अध्यक्ष ओलीको बढ्दो संवादले पनि प्रचण्डलाई थप शसंकित पारेको थियो। बजेटको मुखमा सरकार ढल्ने हो कि भन्ने चिन्ता माओवादी नेताहरुमा देखिन्थ्यो। बजेट लेख्नका लागि सल्लाह सुझावहरु संकलन गरिरहे तापनि संसदमा बजेट प्रस्तुत गर्न पाईने हो कि नपाईने हो भन्ने ढुलमुलको वातावरणमा कसरी काम गर्नु भन्ने मनस्थितिमा अर्थमन्त्री वर्षमान पुन रहेको निकटम स्रोत बताउँछ। प्रधानमन्त्री प्रचण्डसमेत ढुक्कले काम गर्नुस् भन्ने अवस्थामा थिएनन्। यस्तो अवस्थामा उनले एमालेसंग वर्तमान गठबन्धन निरन्तरताको सुनिश्चितता खोजेका थिए।
उपेन्द्र यादव नेतृत्वको समाजवादीलाई फ़ुटाएरै भएपनि सत्ता समीकरणमा संकट आउन नदिने विषयमा ओली र प्रचण्डको बीचमा सल्लाह भएको स्रोत बताउँछ। एमाले अध्यक्ष ओलीले १२ वर्षअघि एमाले छोडेका जसपाका वरिष्ठ उपाध्यक्ष अशोक राईलाई कन्फिडेन्समा लिएपछि १२ मध्ये ७ सांसद आफ्नो पक्षमा पारेर राईले पार्टी फुटाएको बुझिएको छ। यो कदमबाट एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धनको निरन्तरता नै आफ्नो चाहना रहेको स्पष्ट पारेका छन् जसबाट प्रधानमन्त्री प्रचण्डको ‘कन्फ़िडेन्स’ समेत बढेको छ।
सरकारको सुनिश्चिततासंगै अर्थमन्त्रीलाई समेत ढुक्कले काम गर्ने बाटो खुलेको अर्थमन्त्री निकट स्रोतले बजारको चिरफारलाई बतायो। अर्थमन्त्री नियुक्त हुनेबित्तिकै अर्थतन्त्रको समस्या समाधान गर्ने उपाय आफूसंग रहेको बताएका अर्थमन्त्रीले पछिल्लो समय प्रभावकारी रुपमा काम गर्न नसकेको उनीसंग निकट रहेर काम गरिरहेका पदाधिकारीहरु नै स्विकार्छन। बिचमा लगानी सम्मेलन सफल बनाउन सम्पूर्ण ध्यान केन्द्रित गरेका अर्थमन्त्री अब भने प्रभावकारी रुपमा काम गर्ने मनस्थितीमा छन्। तत्कालै सरकार हेरफेर नहुने भएपछि अर्थमन्त्री हौसिएको र द्रुत गतिमा रोकिएका कामहरु हुने पनि स्रोत बताउँछ।