प्रचण्डले संसदीय मर्यादा विपरीत भ्रम फैलाएका छन्: महासचिव पोखरेल

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २० गते
प्रचण्डले संसदीय मर्यादा विपरीत भ्रम फैलाएका छन्: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि संसदीय मर्यादा विपरीत भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

बिहीबार सुर्खेत विमानस्थलमा  पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले प्रचण्डले संसदीय राजनीति र लोकतान्त्रिक मूल्यविपरीत अभिव्यक्ति दिएर भ्रम फैलाएको बताए । सरकारबाट बाहिरिएपछि प्रचण्डले कांग्रेस-एमाले मिलेर संविधानमा रहेका कमीकमजोरीका विषयमा गर्न खोजेको समीक्षालाई आम जनतामा भ्रमको विषय बनाएको पोखरेलले बताए ।

मुलुकमा दुई दलीय प्रणाली नभई राजनीतिक स्थायित्व र समृद्धिका लागि शक्तिशाली दुई दल आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले अन्य दल नै खोल्न नपाइने गलत भाष्य प्रचण्डले प्रयोग गरिरहेको बताए । पोखरेलले भने, “एमाले–कांग्रेसको संविधान संशोधनको उद्देश्य व्यवस्थालाई बलियो बनाउनु हो, न कि परिवर्तन उल्ट्याउनु।”

साथै, प्रचण्डले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै, उनले सत्ता नपाएको झोंकमा प्रचण्डले देशलाई बंगलादेश र श्रीलंका जस्तो बनाउने धम्की दिएको र यसबाट समाजमा अराजकता फैलाउन खोजेको बताए।

‘संकटबाट गुज्रिएको देशलाई सही बाटोमा ल्याउन एमाले–कांग्रेस मिलेका हुन्,’ महासचिव पोखरेलले भने, ‘लोकतन्त्रलाई सही दिशामा लैजान संविधानमा भएका अपूरा पक्षमाथि समीक्षा गर्न आवश्यक छ । अस्थिर राजनीति र यसबाट फैलिएको अराजकतालाई समाधान गरी राजनीतिक स्थायित्व कायम गर्ने र देशलाई समृद्धिको मार्गमा लैजान कांग्रेस–एमाले मिलेका हुन् । यसमा कुनै दुई मत छैन ।’

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स