काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसरमा धरहरालाई अस्थायी रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। धरहराको सञ्चालन जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई सुम्पिएको छ। २०७२ सालको भूकम्पअघि काठमाडौं महानगरपालिकालाई धरहराको व्यवस्थापन जिम्मा दिइएको थियो, तर अब यसअघिका सबै निर्णय खारेज गरिएको छ।
नवनिर्मित धरहरा बाहिरबाट पुरानै ११ तला जस्तो देखिए पनि भित्री संरचना २२ तलाको छ। यसको उचाइ जमिनदेखि ८३.५८ मिटर छ। पुरानो धरहरा १९९० सालको भूकम्पले भत्किएर ९ तला मात्र बाँकी रहेको थियो। अहिलेको धरहरामा दुईवटा लिफ्ट जडान गरिएको छ, जसले पर्यटकलाई टावर चढ्न सजिलो बनाउनेछ। पुरानो धरहराको भग्नावशेष खुला स्थानमा सुरक्षित रूपमा अवलोकनका लागि राखिएको छ। धरहरा टावरमुनि तीन तले भूमिगत पार्किङ, प्रशासनिक भवन, र संग्रहालयसमेत निर्माण भइरहेको छ।



















प्रतिकृया