दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले असोज ४ गते देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ। काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई विद्युतीय कारोबार मुद्दामा पक्राउ गर्न अनुमति दिएको विरोधमा महाअभियानले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी फिर्ता नलिए आन्दोलन चर्काउने बताएको हो।
विज्ञप्तिमा सरकारले गणतन्त्रको नाममा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि दमन गरिरहेको आरोप लगाइएको छ। साथै, प्रसाईं, सञ्चारकर्मी प्रकाशचन्द्र दाहाल, र जीवन पाण्डेमाथि कपोकल्पित र झुटा मुद्दा लगाएर राज्यले दमन कार्यनीति अपनाएको आरोप गरिएको छ।
महाअभियानले असोज ३ गते राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा असोज ४ गते देशभर चक्काजाम, विरोध सभा र धर्ना जस्ता कार्यक्रमहरू अघि बढाउन आह्वान गरेको छ।




















प्रतिकृया