सिन्धुपाल्चोक र आसपासका जिल्लाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भएको छ । कूल २२०/१३२ केभी क्षमताको सबस्टेसनमा एक सय ६० एमभिए, एक सय ३२/११ केभी र पाँच एमभिएका पावर ट्रान्सफर्मर रहेका छन् ।
ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमा चार सय केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन अवस्थामा छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको एक सय दुई मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिनेछ । मध्यभोटेकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने विद्युत् प्राधिकरणले जनाएको छ ।
निर्माण सम्पन्न भएको मध्यभोटेकोसीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षण गर्ने क्रममा सुरुङबाट पानी चुहिएपछि हाल सुरुङको मर्मत भइरहेको छ । सुरुङ मर्मत आगामी भदौ दोस्रो साताभित्र (अगस्ट) सक्ने लक्ष्य राखी काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
#bajarkochirfar #bazarkochirfar

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया